३१ जेठ,काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रौतहटको ईशनाथ नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत नन्दकिशोर गुप्तासहित तीन जनालाई विशेष अदालतले सफाइ दिएको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ। अख्तियारले तत्कालीन प्रशासकीय अधिकृत गुप्ता, इन्जिनियर सत्यपाल सौरभ र प्रधानाध्यापक मुहमद समिम अख्तरविरूद्ध शुक्रबार पुनरावेदन दर्ता गरेको हो।
अख्तियारले उनीहरूमाथि आधारभूत विद्यालय लक्ष्मीनियाँ भवन निर्माणमा अनियमितता गरेको आरोप लगाएको थियो। आरोपअनुसार, फिल्डमा भएको कामभन्दा बढी मूल्याङ्कन गरी नभएका र नगरिएका कार्यसमेत भएको भनी झुटो बिल बनाएको पाइएको थियो।
उनीहरूले ३ लाख ३ हजार ७९७ रूपैयाँ ६३ पैसा बढी भुक्तानी गरेको भन्दै सोही अनुसारको बिगो माग गरी अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। तर, २०८१ असार २ गते विशेष अदालतले उक्त मुद्दामा उनीहरूलाई सफाइ दिएको अख्तियारका प्रवक्ता राजेन्द्र पौडेलले जानकारी दिए। अख्तियारले अब यस विषयमा सर्वोच्च अदालतबाट न्याय निरुपणको अपेक्षा गरेको छ।















