३१ जेठ,वीरगञ्ज । विद्यार्थीलाई सफलता प्राप्त गर्नका लागि किताबी ज्ञान मात्रै होईन व्यवहारिक ज्ञान र सीपको पनि आवश्यकता पर्ने वक्ताहरुले जोड दिएका छन् । वीरगञ्ज कलेजले बीबीएस प्रथम बर्षका विद्यार्थीहरुका लागि आयोजना गरेको सञ्चार, आत्मविश्वास र सहकार्य सम्बन्धि तालिम ‘सफ्ट स्कील’ उदघाटन समारोहमा सहभागी वक्ताहरुले यस्तो जोड दिएका हुन् ।
होटल भिस्वामा आज आयोजना गरेको कार्यक्रममा बोल्दै मधेस प्रदेश सरकारका पूर्वराज्य मन्त्री तथा प्रदेशसभा सदस्य रहबर अन्सारीले सफल व्यक्तिका लागि प्रमाणपत्रले मात्रै नहुने र त्यसको लागि व्यक्तिगण गुण, उसले गर्ने सामाजिक व्यवहार, एकअर्कासँग गरिने सूचना सञ्चारको आदान प्रदान र सहकार्य गर्ने क्षमता पनि हुनुपर्ने बताए ।
व्यक्तिगत गुण, भन्नाले मानिसको व्यक्तिगत गुण, सामाजिक व्यवहार, सञ्चार शैली र अन्य मानिसहरूसँग सहकार्य गर्ने क्षमता कसरी गर्ने भन्ने सिकाई सिकाईने र यी सीपहरू कुनै पनि पेसागत वा व्यक्तिगत जीवनमा सफलता पाउन अत्यन्त आवश्यक रहने कलेजका सञ्चालक समिति अध्यक्ष डा.दिपेन्द्र कुमार चौधरीले बताए ।
अध्यक्ष डा.चौधरीकै अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछानेले ज्ञान, सीप र सञ्चारले मात्रै नभई सही सूचना पनि हुनुपर्ने बताए ।
कार्यक्रममा पत्रकार महासंघका पर्सा अध्यक्ष ओमप्रकाश खनाल, वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण,वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, प्याब्सनका सल्लाहाकार प्रकाश उपाध्याय लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कलेजका प्रशासन प्रमुख सुरेश चौधरीले स्वागत गर्नुभएको कार्यक्रममा सहायक क्याम्पस प्रमुख रुदल ठाकुर, कलेजका शिक्षकहरु, विद्यार्थी र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।















