Logo

३१ जेठ,ठोरी । नेपाल राष्ट्रिय शिक्षक संगठन ठोरी गाउँपालिकाको अध्यक्षमा गोपिलाल श्रेष्ठ पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। संगठनको ठोरी गाउँपालिका–४, निर्मलवस्तीमा शनिबार सम्पन्न अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत अध्यक्षमा चुनिएका हुन्।

शिक्षक महासंघ ठोरीका उपाध्यक्षसमेत रहेका श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्वाचित भएको नेपाल राष्ट्रिय शिक्षक संगठन पर्साका सदस्य चन्द्र बहादुर श्रेष्ठले जानकारी दिए। नवनिर्वाचित समितिको उपाध्यक्षमा निमा तामाङ र सचिवमा गोकुल प्रधान लगायतका पदाधिकारीहरू चुनिएको जिल्ला सदस्य श्रेष्ठले बताए।

यसैगरी, शनिबार नै नेपाल राष्ट्रिय शिक्षक संगठन पर्साका निर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गरिएको छ। ठोरी–४, निर्मलवस्तीस्थित नेरा आधारभूत विद्यालयमा आजै भएको कार्यक्रममा बितेको चैतको तेस्रो साता निर्वाचित जिल्ला समितिका पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गरिएको हो। चैतको तेस्रो साता वीरगञ्जमा सम्पन्न संगठनको १४औँ अधिवेशनबाट अध्यक्ष पदमा इन्द्रदेव कुर्मी, उपाध्यक्षमा शर्मिला रेग्मी, सचिव पदमा पिताचन्द्र ढुङ्गेल लगायतका पदाधिकारीहरू निर्वाचित भएका थिए।

ठोरी गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका नेता ठाकुर प्रसाद न्यौपाने, एमाले ठोरीका अध्यक्ष खगेन्द्र श्रेष्ठ, शिक्षक महासंघ पर्साका सचिव बिनोद गिरी, शिक्षक महासंघ ठोरीका अध्यक्ष अमृत श्रेष्ठ लगायत संगठन निकट ठोरीका शिक्षकहरूको उपस्थिति थियो।


सम्बन्धित समाचार