Logo

१ असार, काठमाडौँ । भारतको उत्तराखण्ड राज्यस्थित प्रसिद्ध धार्मिक स्थल केदारनाथ धाममा आज बिहान एक हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ। तीर्थयात्री बोकेको सो हेलिकप्टर केदारनाथ मन्दिर दर्शन गरेर फर्किंदै गर्दा दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

हेलिकप्टर आज बिहान करिब साढे ५ बजे सम्पर्कविहीन भएको थियो। प्रारम्भिक विवरण अनुसार हेलिकप्टरमा पाइलटसहित एक बालक र चार अन्य यात्रु गरी कुल ६ जना सवार थिए। उनीहरूको ज्यान गएको आशंका गरिएको छ, तर विस्तृत विवरण र आधिकारिक पुष्टि आउन बाँकी छ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले घटनास्थल गौरीकुण्ड क्षेत्रमा खोज तथा उद्धार कार्यका लागि टोली खटाइएको जानकारी दिएका छन्। खराब मौसमका कारण हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।

केदारनाथ धार्मिक महत्त्वको स्थल भएकाले यहाँ दैनिक सयौं तीर्थयात्रीहरू दर्शनका लागि जाने गर्दछन्। पछिल्ला वर्षहरूमा मौसमको खराबी र अधिक आवागमनका कारण हवाई दुर्घटनाको जोखिम बढ्दै गएको बताइन्छ।

यस घटनासँगै, भारतमा पछिल्लो समय भएका हवाई दुर्घटनाको श्रृङ्खलाले चिन्ता बढाएको छ। यसअघि गएको बिहीबार गुजरातको अहमदावादस्थित आवासीय क्षेत्रमा लन्डनका लागि उडेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा चालक दलसहित २४१ जनाले ज्यान गुमाएका थिए।


सम्बन्धित समाचार