Logo

१ असार, काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आग्रहपछि प्रतिनिधिसभा बैठक सञ्चालनमा ढिलाइ भएको छ । आइतबार बिहान ११ बजेका लागि तय भएको बैठक सभामुख देवराज घिमिरेले दलहरूको आग्रहमा ११ः३० का लागि सारेका थिए । तर, त्यसपछि पनि रास्वपाले आफूहरूको बैठक चलिरहेकाले केही समय पर्खन भनेपछि बैठक बस्नमा ढिलाइ भएको हो । सभामुख घिमिरे संसद भवन नयाँ बानेश्वरमा रास्वपाको निर्णय पर्खिरहेका छन् ।

संसदमा जारी अवरोधका सन्दर्भमा सभामुख घिमिरेले आइतबार बिहान रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसँग अलग–अलग छलफल गरेका छन् ।

रास्वपा कार्यवाहक सभापति अर्यालसँग बानेश्वरस्थित कार्यकक्षमा भएको छलफलमा सभामुखले संवैधानिक सीमाका कारण बजेटमाथिको छलफल सुरु गर्नैपर्ने बाध्यता रहेको बताउँदै अवरोधको स्वरूप बदल्न आग्रह गरेका थिए । उनले संसद्लाई मर्यादित बनाउन आवश्यक संवेदनशीलता देखाउनुपर्नेमा पनि ध्यानाकर्षण गराएका थिए । प्रत्युत्तरमा अर्यालले आफूहरूले संसद्मा अवरोध जारी राख्ने बताउँदै संसद्को मर्यादा कायम राख्न प्रतिबद्ध रहेको जानकारी गराएका थिए । उनले यस विषयमा पार्टीभित्र छलफल गरेर निर्णय दिने बताएका थिए ।

गत शुक्रबारको बैठकमा अवरोधका क्रममा संसदीय मर्यादाविपरीतका गतिविधि भएको विषयमा बिहान भएको बैठकमा प्रमुख सचेतकहरूले सभामुखको ध्यानाकर्षण गराएका थिए ।

त्यस्तै, सभामुखले राप्रपा अध्यक्ष लिङ्देनलाई पनि टेलिफोन संवादमार्फत् संवैधानिक बाध्यता बुझिदिन आग्रह गर्दै संसद्को अवरोध हटाउन आग्रह गरेका छन् । उनले लिङ्देनलाई संसद्मा आफ्ना विषयहरू उठाउने क्रममा सदन सञ्चालनको वातावरण बनाउन सहयोग गर्न आग्रह गरेका हुन् ।

रास्वपाले आफ्नो आन्तरिक बैठकबाट कुनै ठोस निर्णय नआएसम्म संसद बैठक सुरु हुन नसक्ने देखिएको छ, जसले बजेटमाथिको छलफल थप अनिश्चित बनाएको छ ।


सम्बन्धित समाचार