Logo

१ असार,विराटनगर । मोरङको कानेपोखरी र रंगेलीमा शनिबार राति भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

कानेपोखरीमा प्रहरी सहायक हवल्दारको मृत्यु

शनिबार राति करिब ८ बजे मोरङको कानेपोखरी गाउँपालिका– ७ डाँस खोला पुलको डाइभर्सनमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दार जितेन्द्र चौधरीको मृत्यु भएको छ । बेलबारी नगरपालिका– ४ घर भई इलामस्थित प्रहरी चौकी जमुनामा कार्यरत ३१ वर्षीय चौधरी प्र१–०२–०४३प २४७१ नम्बरको मोटरसाइकलमा आफ्नी श्रीमती र छोरासहित पथरीबाट कानेपोखरीतर्फ आउँदै गर्दा डाइभर्सनमा अनियन्त्रित भई दुर्घटनामा परेका थिए ।

दुर्घटनामा चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनकी श्रीमती, सोही चौकीमा कार्यरत २६ वर्षीया प्रहरी जवान विमला धिमाल चौधरी र दुई वर्षीय छोरा जेशन चौधरी गम्भीर घाइते भएका छन् । उनीहरूको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

रंगेलीमा पिकअप दुर्घटना, चालकको मृत्यु

शनिबार नै हुलाकी राजमार्गको रंगेली खण्डमा भएको अर्को दुर्घटनामा पिकअप चालकको मृत्यु भएको छ । रंगेली नगरपालिका–७ संसारीमाई नजिकै विराटनगरबाट आमबारीतर्फ जाँदै गरेको बोइलर कुखुराको दाना बोकेको को२च १३०० नम्बरको पिकअप दुर्घटना हुँदा चालक विराटनगर महानगरपालिका– ८ का ४५ वर्षीय चेतराज खनालको मृत्यु भएको हो ।

प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको थियो । पिकअपमा सवार सोही स्थानका २३ वर्षीय राम राजबंशी, २१ वर्षीय छत्र पराजुली र ३२ वर्षीय दिपेश पौडेलको अवस्था भने सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।


सम्बन्धित समाचार
भर्खरै