प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१ असार, काठमाडौँ । प्रतिनिधिसभामा जारी अवरोध हटाउनका लागि सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक अध्यक्ष डीपी अर्याल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसँग छुट्टाछुट्टै छलफल गर्नुभएको छ । बजेटमाथिको छलफल सुरु गर्नुपर्ने संवैधानिक बाध्यता औँल्याउँदै सभामुखले सदनको गतिरोध अन्त्य गर्न आग्रह गर्नुभएको हो ।

बानेश्वरस्थित आफ्नो कार्यकक्षमा रास्वपाका कार्यवाहक अध्यक्ष अर्यालसँगको छलफलमा सभामुख घिमिरेले बजेटमाथिको छलफल सुरु गर्नैपर्ने संवैधानिक बाध्यता रहेको र यसका लागि अवरोधको स्वरूप बदल्न आग्रह गर्नुभयो । उहाँले संसदलाई मर्यादित बनाउन आवश्यक संवेदनशीलता देखाउन पनि ध्यानाकर्षण गराउनुभयो । जवाफमा अर्यालले आफूहरूको अवरोध जारी रहने बताए पनि संसदलाई मर्यादित बनाउन प्रतिबद्ध रहेको जानकारी गराउनुभयो । गत शुक्रबारको बैठकमा अवरोधका क्रममा संसदीय मर्यादाविपरीतका गतिविधि भएको विषयमा बिहान भएको बैठकमा प्रमुख सचेतकहरूले सभामुखको ध्यानाकर्षण गराएका थिए ।

त्यस्तै, सभामुख घिमिरेले राप्रपा अध्यक्ष लिङ्देनलाई पनि टेलिफोनमार्फत संवैधानिक बाध्यता बुझिदिन आग्रह गर्दै संसदको अवरोध हटाउन आग्रह गर्नुभयो । उहाँले संसदमा आफ्ना विषयहरू राख्दै सदन सुचारु गर्ने वातावरण बनाउन सहयोग गर्न लिङ्देनलाई आग्रह गर्नुभएको छ ।

सभामुखको यस पहलपछि संसदमा जारी गतिरोध अन्त्य भई बजेटमाथिको छलफल अगाडि बढ्ने अपेक्षा गरिएको छ । यद्यपि, रास्वपाले आफ्नो अडान कायम राखेकाले संसदको गतिरोध तत्काल हट्नेमा अन्योल कायमै छ ।


सम्बन्धित समाचार