१ असार, काठमाडौँ । इजरायल र इरानबीचको प्रत्यक्ष सैन्य तनाव तेस्रो दिनमा प्रवेश गर्दा दुवैतर्फ मानवीय र भौतिक क्षति बढेको छ । दुवै देशका अधिकारीहरूका अनुसार, इजरायलमा कम्तिमा १० जनाको मृत्यु भएको छ भने इरानमा ७८ जनाले ज्यान गुमाएका छन् । यस आक्रमण र प्रत्याक्रमणको श्रृंखलामा सयौं मानिस घाइते भएका छन् भने भौतिक र आर्थिक क्षति अतुलनीय रहेको जनाइएको छ ।
इजरायलमा इरानी हमलाबाट १० को मृत्यु: शनिबार साँझदेखि रातभर इरानले गरेको जवाफी हमलामा इजरायलमा मृत्यु हुनेको संख्या १० पुगेको सीएनएनले जनाएको छ । आपतकालीन कर्मचारीहरूले खोज तथा उद्धार अभियान जारी राखेका छन् । इजरायली खोजी र उद्धार संस्था जाकाका अनुसार, मध्य तटीय सहर बात याममा ६ जनाको मृत्यु भएको छ जहाँ एक भवनमा प्रहार गरिएको थियो । अन्य चार जनाको मृत्यु उत्तरी प्यालेस्टिनी–इजरायली सहर ताम्रामा भएको छ, जहाँ भवनहरूमा पनि निशाना साधिएको थियो ।
युद्ध लम्बिने अमेरिकी र इजरायली अनुमान: अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस र इजरायली अधिकारीहरूका अनुसार, इरानविरुद्ध इजरायलको सैन्य अभियान केही दिन नभई हप्तौंसम्म चल्ने अपेक्षा गरिएको छ । यो अभियान अमेरिकाको अप्रत्यक्ष स्वीकृतिका साथ अगाडि बढिरहेको बताइएको छ ।
नेतन्याहूको कडा चेतावनी, इरानको प्रतिशोधको धम्की: इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले शनिबार एक भिडियो सम्बोधनमार्फत इजरायलले इरानका सर्वोच्च नेता अयातुल्लाह अल खमिनीको शासनको हरेक स्थान र लक्ष्यमा प्रहार गर्ने चेतावनी दिएका थिए । यता, इरानले पनि इजरायलले शत्रुता जारी राखेमा आफ्नो हमला बढाउने धम्की दिएको छ ।
तेहरानमा इजरायली हवाई हमला, इरानी ऊर्जा केन्द्र निशानामा: इजरायली वायुसेनाले तेहरानमा धेरै लक्ष्यहरूमा व्यापक गुप्तचरमा आधारित आक्रमण गरेको बताएको छ । यसमा इरानको रक्षा मन्त्रालयको मुख्यालय पनि समावेश भएको बताइएको छ, यद्यपि इरानको तस्निम समाचार एजेन्सीले उक्त आक्रमणका कारण मन्त्रालयको एक प्रशासनिक भवनलाई सानो क्षति पुगेको जनाएको छ ।
इरानले इजरायली आक्रमणका कारण विश्वको सबैभन्दा ठूलो दक्षिण पार्स प्राकृतिक ग्यास फिल्ड र शाहरान तेल डिपोलाई निशाना बनाइएको आरोप लगाएको छ । तेहरान प्राप्त भिडियोहरूमा ठूलो आगो लागेको र धुवाँ उठिरहेको देखिन्छ ।
इजरायलमा इरानी मिसाइल प्रहार: इजरायलको च्यानल १३ को रिपोर्टअनुसार इजरायलको हाइफा र नजिकैको ताम्रामा क्षेत्रमा इरानबाट मिसाइल प्रहार भएको छ । हाइफामा गरिएको हमला अपेक्षित नै थियो किनभने यो तटीय शहरमा इजरायलको रणनीतिक ग्याँस पूर्वाधारहरू रहेका छन् । विश्लेषकहरूले यसलाई इरानले वाचा गरेको प्रतिशोधको सुरुवात भएको बताएका छन्, जुन इरानको बुशेहर र अबादान नजिकैको प्रमुख ऊर्जा केन्द्रहरूमा इजरायली बमबारीको प्रतिक्रियास्वरूप गरिएको हो ।
यो द्वन्द्वले मध्यपूर्वमा थप अस्थिरता बढाउने र क्षेत्रीय सुरक्षामा गम्भीर चुनौती खडा गर्ने देखिएको छ ।
















