१ असार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले दुई बुँदे सहमतिको नाममा प्रतिपक्षी दलहरूलाई धोका दिएको आरोप लगाउनुभएको छ । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै परियारले यस्तो बताउनुभएको हो ।
परियारले रास्वपाले भिजिट भिसा र अध्यागमनको विषयलाई लिएर आन्दोलन गरिरहेको सन्दर्भमा माओवादी केन्द्रले गरेको सहमति ‘झारो टार्ने काम’ मात्र भएको बताउनुभयो । उहाँले सरकारले मानव बेचबिखनको मुद्दालाई गम्भीरताका साथ नलिएको गुनासो गर्दै सुशासनका लागि अगाडि बढ्न खोज्दा कुनै सुनुवाइ नभएको दाबी गर्नुभयो ।
“रास्वपा भिजिट भिसा र अध्यागमनको प्रकरणमा आन्दोलनमा छ,” परियारले भन्नुभयो, “हामीले लामो प्रयास गरेका छौँ, निकै दिन संवाद गरेका छौँ । र पनि सरकारले त्यो मुद्दा गम्भीरताका साथ लिएन । सुशासनमा एउटा कदम अघि बढौँ भन्दा कुनै सुनुवाइ भएन । प्रमुख प्रतिपक्षले गरेको सहमति ठोस र कार्यान्वयन गर्ने र न्याय दिने हिसाबमा भएन । जुन तहको छानबिन हुनुपर्ने हो त्यो अनुसार हुन सकेन । झारो टार्ने काम र हामीलाई झुक्याउने काम भयो । रास्वपाले सहमति गरेन । सभामा विवेक चाहिन्छ ।”
उहाँले गृहमन्त्रीको राजीनामाको मागबाट आफूहरू पछि नहटेको पनि स्पष्ट पार्नुभयो । परियारले सदनको काम कारबाहीमा रास्वपा जिम्मेवार रहेको बताउँदै, आफूहरूले बुझाएका पाँच बुँदे मागमा सहमति र उच्चस्तरीय छानबिन समिति नबनाएसम्म सदन चल्न नसक्ने अडान दोहोर्याउनुभयो ।















