काठमाडौं, असार १ – नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले प्रतिपक्षी दलहरूको विरोधका बीच प्रतिनिधि सभाको बैठक सञ्चालन नगर्न सभामुख देवराज घिमिरेलाई आग्रह गरेका छन्।
आइतबारको संसद बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै नाराबाजी जारी राखेका छन्। विपक्षीको नाराबाजीका कारण बजेटमाथिको छलफल प्रभावित भएको भन्दै सांसद पाण्डेले सहमति गरेर मात्रै बैठक अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्।
“मान्य मन्त्रीज्यूले यति महत्त्वपूर्ण कुरा सुनाइरहनु भएको छ, प्रतिपक्षमा रहेका दलमध्ये एउटा दल अवरोधको अवस्थामा छ,” पाण्डेले भने, “नाराबाजीमा छ। यो नाराबाजीको अवस्थामा मन्त्रीज्यूले भनेको कुरा हामी सुनिरहेका छैनौँ। अनि कसरी यो सभा चलाउने हो र?”
उनले थपे, “यो सभा चलाउने अहिलेको तरिका भएन सभामुख महोदय। यो स्थगित गरेर, सहमति गरेर, एउटा टुंगो गरेर मात्रै अगाडि बढाइयोस्।”
आजको संसद बैठकमा सभामुख घिमिरेले विपक्षीको विरोधका बावजुद कार्यसूची अनुसार बैठक अघि बढाएका छन्, जसको विरोधमा पाण्डेले यस्तो आग्रह गरेका हुन्।















