१ असार, काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले आगामी आर्थिक वर्षको बजेटको विरोध गर्दै प्रतिनिधिसभा बैठक चलिरहेका बेला दर्शकदीर्घामा पुगेर आफ्नो आपत्ति जनाएका छन् । उनले विशेषगरी गोरखा जिल्लाको बजेट कटौती गरिएकोमा तीव्र असन्तुष्टि व्यक्त गरेका हुन् ।
सांसद बजगाईंले आफ्नो वक्तव्यमार्फत पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै भनेका छन्, “सम्माननीय केपी शर्मा ओली, नेपालका प्रधानमन्त्रीज्यूलाई गोरखा लुकेको कर्णाली हो भन्ने विषय राम्रो ज्ञान छ । बूढीगण्डकी परियोजना निर्माण गर्ने अठोट पनि छ । नेपालको अर्थतन्त्र चलायमान गर्न कहाँकहाँ अवरोध छन् त्यो पनि थाहै छ !”
उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले देशको भूगोल र प्रजातन्त्रको आधारभूत तत्व, अर्थात् नागरिकका मौलिक अधिकार र स्रोतसाधनको समान वितरणको मर्म नबुझेको आरोप लगाएका छन् । बजगाईंले थपेका छन्, “सायद तपाईंले गोरखाको विनासडकको पुल निर्माण गर्ने तत्कालीन पूर्वाधारमन्त्रीको पक्षपोषण गर्नुभयो । बजेटको विरोध दर्शकदीर्घाबाटै गर्नुपर्ने परिस्थिति हुनु दुःखद विषय हो ।”
मन्त्री दाहालमाथि प्रजातान्त्रिक मूल्यको मर्म नबुझेको र देशको भूगोलप्रति आवश्यक ज्ञान पनि हासिल नगरेको आरोप लगाउँदै बजगाईंले भनेका छन्, “त्यसैले उहाँ (देवेन्द्र दाहाल) गोरखा मात्र होइन, देशभरिका लागि बजेटको न्यायसंगत वितरण गर्न अयोग्य देखिन्छन् । गोरखाली जनताको तर्फबाट म उहाँको निर्णयको घोर भर्त्सना गर्दछु । पछिल्ला दुई आर्थिक वर्षमा हामीले गोरखाका लागि सुनिश्चित गरेको करिब चार दर्जन बजेट शीर्षकहरू उहाँले काटिदिनुभएको छ, जुन सरासर अन्यायपूर्ण र दुर्भाग्यपूर्ण छ ।”
सांसद बजगाईंको यो विरोधले बजेट वितरणमाथि प्रश्न उठाएको छ भने यसले संसदीय प्रक्रियामा नयाँ किसिमको असन्तुष्टि प्रकट गरेको छ ।















