असार, १ काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटले मुलुकको अर्थतन्त्रमा विद्यमान चुनौतीहरूलाई सामना गर्न सक्नेगरी तर्जुमा गरिएको बताएका छन्।
आइतबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै पौडेलले अर्थतन्त्रका सूचकहरू सकारात्मक हुँदै गए पनि चुनौतीहरू कायम रहेकाले तिनलाई सम्बोधन गर्ने बजेट आएको बताएका हुन्। उनका अनुसार, प्रस्तुत बजेटको कार्यान्वयनबाट आर्थिक गतिविधि विस्तार हुने, निजी क्षेत्रको लगानी अभिवृद्धि हुने, रोजगारी सिर्जना हुने र पूर्वाधार आयोजनाहरू निर्धारित समयमा नै सम्पन्न हुने अपेक्षा गरिएको छ।
अर्थमन्त्री पौडेलले चालू पूँजीगत खर्च चालू आर्थिक वर्षको तुलनामा १६ प्रतिशतले वृद्धि गरिएको जानकारी दिए। साथै, अन्तर सरकारी वित्त हस्तान्तरणमा वित्त आयोगले निर्धारण गरेको सीमाभन्दा करिब ४ अर्बले वृद्धि गरिएको छ। बजेटमा आम्दानीको मुख्य स्रोत राजस्वले समग्र खर्चको करिब ६७ प्रतिशत धान्नेगरी प्रस्ताव गरिएको उनको भनाइ छ।















