Logo

१ असार, काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगले निष्पक्षता कायम गर्ने कुरामा जनविश्वास प्रबल रहेको बताउनुभएको छ । आयोगको हिरक जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले निजामती, सुरक्षा निकाय लगायतका संगठित संस्थामा पदपूर्तिका लागि योग्यता, निष्पक्षता र स्वच्छता कायम गर्न आयोगले पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपाल र नेपालीको चाहनाअनुरुप कार्य गर्न आवश्यक जनशक्तिको छनोटमा आयोगले परीक्षा प्रणालीलाई सुधार गर्दै आएको, प्रविधिमैत्री र समयसापेक्ष बनाएको जानकारी पाउँदा मलाई खुसी लागेको छ ।” उहाँले आयोगलाई थप साधनस्रोतसम्पन्न र प्रविधिमैत्री बनाउन तथा आयोगका वार्षिक प्रतिवेदनमा दिइने सुझावको कार्यान्वयनका लागि सम्बन्धित निकायले उचित ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सरकारका तर्फबाट गर्नुपर्ने सहजीकरणका लागि सरकार सधैँ तत्पर रहने प्रतिबद्धता पनि प्रधानमन्त्री ओलीले व्यक्त गर्नुभयो ।

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भएको समारोहमा प्रधानमन्त्री ओलीले योग्यता, निष्पक्षता र स्वच्छता कायम गरी युवा पुस्तामा समेत विश्वासको वातावरण सिर्जना गरी राष्ट्रसेवामा सबैलाई प्रेरित गर्न आयोगले निरन्तर भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । यसले राज्य सञ्चालनका लागि आवश्यक दक्ष र योग्य जनशक्ति चयनमा आयोगको भूमिका अपरिहार्य रहेको सन्देश दिएको छ ।


सम्बन्धित समाचार