Logo

१ असार, काठमाडौँ ।  काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटस्थित थ्रिस्टार किडजोन स्कुलको कम्पाउण्डभित्र रहेको साढे दुईतले घरमा एक पुरुष, एक महिला र एउटा कुकुर मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार, शुक्रबार राति पौने १० बजेतिर शवहरू फेला परेका थिए ।

मृतकहरूमा पञ्जाब, चन्डिगढका ५४ वर्षीय परम नारायण गिल र २८ वर्षीया अन्जना तामाङ रहेको प्रहरीले जनाएको छ । अन्जना धादिङको गल्छी गाउँपालिका–६ घर भई हाल सोही घरमा काम गरी बस्ने गर्थिन् । साढे दुई तलाको घरको पहिलो तलामा रहेको एउटा कोठा परम नारायणले भाडामा लिएका थिए ।

प्रहरी स्रोतका अनुसार, परम नारायण पेसाले वेडिङ फोटोग्राफर पनि थिए । उनले नेपाली महिलासँग विवाह गरेका थिए, जो घटनापछि टर्की फर्किसकेकी छन् ।

अबेर राति शव फेला परेको खबरपछि प्रहरी वृत्त महाराजगन्जबाट प्रहरीको टोली खटिएको थियो । प्रहरीका अनुसार कोठा भित्रबाट बन्द थियो । प्रहरीले ढोका फोडेर कोठाभित्र प्रवेश गर्दा अन्जना र परम नारायण दुबै जना मृत अवस्थामा भेटिएका थिए । अन्जनाको शव सोफामा फेला परेको थियो र उनको टाउकोमा चोट देखिएको थियो । परम नारायण गिल सोही कोठाको भुइँमा मृत फेला परेका थिए भने उनको शरीरमा कुनै पनि चोट देखिएको थिएन । उनीहरूको शव नजिकै एउटा ह्याम्मर र विषादीको बट्टा पनि फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतले बताए अनुसार, “मृतकको शव नजिकै एउटा विषादीको बट्टा पनि फेला परेको छ । हत्यापछि आत्महत्या गरेको हुनसक्ने देखिन्छ । प्रहरीले ढोका पनि पछि फोडेर खोलेको र कुकुरलाई पनि विषादी खुवाएको हुनसक्ने देखिन्छ।”

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ । शव पोष्टमर्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।


सम्बन्धित समाचार
भर्खरै