Logo

फाइल तस्बिर

२ असार, काठमाडौँ । नेपाल किसान महासङ्घ र अखिल नेपाल किसान महासङ्घले उखु उत्पादक किसानलाई एक अर्ब ६० करोड रुपैयाँ अनुदान उपलब्ध गराउन माग गरेका छन् ।

आईतबार काठमाण्डौमा भएको पत्रकार सम्मेलनमा महासङ्घले उखु उत्पादक किसानलाई दिइँदै आएको अनुदानलाई निरन्तरता दिँदै चालू आर्थिक वर्षको अनुदान करिब एक अर्ब ६० करोड रुपैयाँ किसानलाई यथाशीघ्र भुक्तानी गर्नुपर्ने माग गरेका हुन् ।

दुग्ध उत्पादक किसानहरुको वक्यौता रकम यथाशीघ्र भुक्तानी गर्नुपर्ने, धान र मकैका लागि अति आवश्यक रहेको रासायनिक मलको पर्याप्त उपलब्धताको सुनिश्चितता गर्नुपर्ने समेत उनीहरुको माग छ ।

अखिल नेपाल किसान महासङ्घका अध्यक्ष डा.प्रेम दङ्गालले सुपारी किसानका समस्या तत्काल सम्बोधन गर्दै च्याउखेती तथा पशुपालनका लागि प्रयोग हुने पराल र गहुँको नल ढुवानी गर्दा प्रहरी प्रशासनले बारम्बार दुःख दिइरहेकाले यसको स्थायी समाधान गरी कृषिमा सुशासनको प्रत्याभूति गर्न पनि माग गरे ।

नेपाल किसान महासङ्घका अध्यक्ष गणेशभन्द्र तिमल्सेनाले अस्थायी संरचना निर्माण गरेर भएता पनि उत्पादित बिक्रीयोग्य चैते धान निर्धारित समर्थन मूल्यमा यथाशीघ्र खरिद गर्न आवश्यक रहेको बताए । उनले  निर्धारित मूल्यभन्दा कममा बिक्री गरिएको धानको समर्थन मूल्य बराबरको रकम किसानले प्राप्त गर्ने गरी सरकारले शोधभर्ना दिनुपर्ने माग गरे ।


सम्बन्धित समाचार