Logo

२ असार, काठमाडौँ । राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति स्थापनाले अवसर पारेर सोमबार एघारौँ चुरे संरक्षण दिवस मनाउँदै छ ।

समितिले आज राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा नवलपरासीको कावासोतीमा मुख्य कार्यक्रमको आयोजना गरेको समितिको कार्यक्रम कार्यान्वयन एकाइ चितवन प्रमुख प्रकाश नेपालले जानकारी दिए ।

चुरेको प्राकृतिक स्रोत संरक्षण, दीगो व्यवस्थापन, पारिस्थितिकीय सेवाको संवर्धनद्वारा गरिबी न्यूनीकरणमा टेवा पुर्‍याउने लक्ष्यका साथ समितिको स्थापना विसं २०७१ असार २ गते भएको हो । स्थापना भएयता समितिले हालसम्म एक हजार ४५९ स्थानमान गल्छी, पहिरो, खहरे नियन्त्रण, १६६ हेक्टर भिरालो कृषि भूमिमा बहुवर्षिय बाली विस्तार गरेको जनाएको छ । त्यस्तै पाँच हजार २३० हेक्टरमा हरियाली प्रवर्धन कार्यक्रम गरेको र दुई करोड ९३ लाख ४९ हजार बिरुवा उत्पादन र वितरण गरेको समितिको उपलब्धि विवरणमा उल्लेख गरेको छ।

यसैगरी हालसम्म नदी÷खोला किनारामा ४१२ किमी तटबन्ध निर्माण, १६२ हेक्टर हरित पेटिका निर्माण, १३९ सिमसार तालतलैया संरक्षण/पुनर्निर्माण, ६२८ वर्षातको पानी सङ्कलन पोखरी निर्माण र ५४८ वटा पानी मुहान संरक्षण गरिएको छ ।

त्यस्तै समितिको स्थापना भएयताको अवधिमा चुरे संरक्षणका नाममा झण्डै १५ अर्ब रुपैयाँ खर्च भइसकेको छ । समितिले आर्थिक वर्ष २०८०–८१ सम्म १४ अर्ब ९६ करोड रुपैयाँ खर्च गरेको छ। समितिका अनुसार यस अवधिमा वित्तीय प्रगति ८८ दशमलव ९३ र भौतिक प्रगति ९१.८४ प्रतिशत भएको छ ।


सम्बन्धित समाचार