२ असार, सुनसरी। सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–१३, शिवधारास्थित कोशी लोकमार्गबाट आज सशस्त्र प्रहरीले करिब २ हजार १३० किलोग्राम गाँजासहित एउटा ट्रक नियन्त्रणमा लिएको छ।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश धरानले भेडेटारबाट धरानतर्फ आउँदै गरेको प्रदेश १-०२-००२ ख ०८४८ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरीका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, उक्त ट्रकमा ७० बोरा गाँजासहित ३१ बोरा अदुवा र अन्य तरकारी पनि फेला परेको थियो।
यद्यपि, गाँजा ओसारपसारमा संलग्न व्यक्ति र ट्रकका चालक भने फरार रहेका छन्। बरामद गरिएको गाँजा, तरकारी र ट्रकलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।















