Logo

२ असार, काठमाडौं । सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र गितेन्द्रबाबु (जीबी) राई नै मुख्य जिम्मेवार रहेको आरोप लागेको छ। आइतबार पर्सा जिल्ला अदालतमा लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दर्ता हुने क्रममा पूर्वडीआईजी छविलाल जोशीले प्रहरीसामु दिएको बयानले उनीहरू दुवै जनालाई सहकारी डुब्नुमा जिम्मेवार देखाएको हो।

जोशीले आफ्नो बयानमा गोर्खा मिडिया नेटवर्क प्रालि र सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच कुनै सम्बन्ध नरहेको बताएका छन्। उनले २०७७ भदौ १४ गते कम्पनी रजिस्ट्रार कार्यालयबाट गोर्खा मिडिया प्रालि दर्ता गरी सञ्चालनमा ल्याउने क्रममा रवि लामिछानेसँग सहकार्य गरेको र आर्थिक कारोबारको सम्पूर्ण जिम्मा जीबी राईको रहेको स्पष्ट पारेका छन्।

जोशीका अनुसार, कम्पनीको शेयर वृद्धि गरी बैंकबाट कर्जा लिनका लागि लामिछाने र राईले आफूलाई ‘बाइपास’ गरी आफ्नो घरसमेत धितो राख्न थालेपछि तीन महिनामै कम्पनीबाट अलग भई अमेरिका प्रस्थान गरेको बताएका छन्।

जोशीको विस्तृत बयान:

जोशीले गोर्खा मिडिया नेटवर्क प्रा.लि. को नाउँमा ग्लोबल आईएमई बैंकमा संचालनमा रहेको ००४०१०१००००५७७ नम्बरको खाताको केवाईसी फारम र दस्तखत नमुना आफ्नो रहेको स्वीकार गरेका छन्। तर, कम्पनीको दैनिक आर्थिक कारोबारको रकम गितेन्द्रबाबु राई र रवि लामिछानेले पूर्णरूपमा गर्ने गरेको र कम्पनीको खाताबाट कसलाई र किन रकम भुक्तानी दिने भन्ने विषय पनि राईमै निर्भर रहने गरेको उनको भनाइ छ।

उनले कम्पनी स्थापनाको करिब ३ महिनाभित्रै कम्पनी छाड्ने निर्णय गरेको र २०७७ मंसिर ३ गते वैदेशिक भ्रमणका लागि अमेरिका प्रस्थान गरेको उल्लेख गरेका छन्। अमेरिकाबाट फर्केपछि २०७७ पुस ३ गते आफ्नो हस्ताक्षर किर्ते गरी कम्पनीको उद्देश्य थप गर्ने निर्णय गरेको थाहा पाएको र त्यसपछि राईसँग भेटेर आफूलाई कम्पनीबाट तुरुन्त अलग गराउन अनुरोध गरेको बताएका छन्।

जोशीका अनुसार, राईले केही हस्ताक्षर छुटेको र कम्पनीको पुँजी वृद्धि लगायतका काम बाँकी रहेकोले उनको आवश्यकता भएको भन्दै सहयोग गर्न अनुरोध गरेका थिए। त्यसपछि जोशीले २०७७ चैत्र महिनामा राई, आफू र लामिछानेको नाउँमा शेयर कायम भएकोमा २०७८ असोज २३ गते आफ्नो नाममा रहेको सम्पूर्ण शेयर गितेन्द्रबाबु राईलाई हस्तान्तरण गरी कम्पनीको विनियम अनुसारको प्रक्रिया पूरा गरी कम्पनी रजिस्ट्रारको कार्यालयमा उपस्थित भई सम्पूर्ण दायित्व र जिम्मेवारीबाट अलग भएको स्पष्ट पारेका छन्।

जोशीले आफू उक्त गोर्खा मिडिया नेटवर्क प्रालिमा छोटो समय मात्र साझेदार रहेको र सहकारीको बचत रकम अपचलन गरी कम्पनीमा लगानी गरिएको वा यसरी अपचलनबाट प्राप्त रकम कम्पनीले प्रयोग गरेको भन्ने विषयमा आफूलाई कुनै जानकारी नभएको दाबी गरेका छन्। उनले सहकारीको रकम अपचलनको विषयमा रवि लामिछाने र गितेन्द्रबाबु राईलाई नै थाहा हुने स्पष्ट पारेका छन्।

यस प्रकरणमा रवि लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दर्ता प्रक्रिया अगाडि बढेको छ।


सम्बन्धित समाचार