Logo

२ असार, काठमाडौं। प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रसँग सहमति भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरूको निरन्तर अवरोधका कारण संसदमा जारी गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले अहिले बानेश्वरस्थित संसद भवनमा प्रमुख पाँच दलका नेताहरूसँग छलफल गरिरहेका छन्।

छलफलमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, नेकपा (एमाले) का मुख्य सचेतक महेशकुमार बर्तौला, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार र राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही सहभागी छन्।

सभामुख घिमिरेले संसदमा जारी अवरोधबारे आज बिहान पनि रास्वपाका कार्यवाहक अध्यक्ष डीपी अर्याल र प्रमुख सचेतक परियारसँग बालुवाटारमा छलफल गरेका थिए। सो भेटमा सभामुखले दुई सातादेखि विपक्षीको अवरोधले संसद बन्धक बनेको र बजेटबारे व्यापक छलफल गर्नुपर्ने महत्वपूर्ण समयमा संसद अवरुद्ध हुँदा जनतामा गलत सन्देश गएको बताएका थिए। उनले विपक्षीले उठाएका मुद्दा गम्भीर रहेको स्वीकार गर्दै दुई सातासम्म सहमतिका लागि संसदलाई रोकेको तर अब रोक्न सक्ने अवस्था नरहेको स्पष्ट पारेका थिए।

सभामुखले संसदको नेतृत्वका हिसाबले आफूले संवैधानिक सीमालाई पनि ख्याल गर्नुपर्ने भन्दै राष्ट्रिय सभाले असार ५ गतेभित्र प्रतिनिधिसभाबाट विनियोजन विधेयक पठाउन भनेको र यस्तो अवस्थामा जुनसुकै हालतमा बजेट पारित गर्नुपर्ने बाध्यता रहेको जानकारी गराएका थिए।

जवाफमा रास्वपाका नेताहरूले विपक्षीले उठाएका माग गम्भीर रहेको र जनताको वास्तविक समस्या उठाएका कारण आफ्ना माग र मुद्दामा सरकार गम्भीर नभएकाले संसद अवरोध बाध्यात्मक भएको बताएका थिए। रास्वपाले अहिलेकै अवस्थामा आफ्ना मुद्दाबाट पछाडि फर्कन नसक्ने जनाउँदै हालको निकासका लागि छलफल र संवाद गर्ने बताएका थिए।

यस छलफलले संसदको गतिरोध अन्त्य गरी आगामी दिनमा सदनको कार्य अगाडि बढाउने दिशामा सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार