२ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले दुई पार्टीले सदनमा विरोध जनाइरहेका बेला प्रतिनिधिसभाको बैठकलाई जबरजस्ती अघि नबढाउन सभामुख देवराज घिमिरेलाई आग्रह गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले सभामुखले बलपूर्वक संसद अघि बढाउनु संसदीय दृष्टिकोणले पनि उचित नहुने बताए। उनले सदनमा उपस्थित सबै दलको भूमिका संख्या जति भए पनि उत्तिकै महत्त्वपूर्ण हुने भन्दै अवरोधका बीच चलेको बैठक बहिस्कार गर्ने चेतावनी दिएका छन्।
रास्वपा र राप्रपाका सांसदहरूले आज पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेका छन्। सभामुखले बैठक सुरु भएको जानकारी गराउनासाथ रास्वपा र राप्रपाका सांसदहरू आ-आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए, त्यसपछि सभामुखले लिङ्देनलाई बोल्ने अवसर दिएका थिए।















