२ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संक्रमणकालीन न्यायसम्बन्धी बाँकी कामलाई छिटो सम्पन्न गर्नका लागि सरकारलाई दबाब दिनुपर्ने बताएका छन्। सोमबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित सहिद रितबहादुर खड्का ‘प्रताप’ को १३औँ स्मृति कार्यक्रममा बोल्दै श्रेष्ठले शान्तिप्रक्रियाका बाँकी कामहरू विभिन्न कारणले गर्दा ढिलाइ भइरहेकोमा चिन्ता व्यक्त गरे।
उनले मुलुकमा भ्रष्टाचार व्याप्त रहेको भन्दै भ्रष्टाचार अन्त्य गरी सुशासन कायम नगरेसम्म जनताको जीवनस्तरमा परिवर्तन आउन नसक्ने दाबी गरे। श्रेष्ठले माओवादी सरकारमा रहँदा सुशासन कायम गर्न निकै महत्वपूर्ण काम गरेको र सोही कारणले भ्रष्टाचारीहरूलाई जोगाउन माओवादी नेतृत्वको सरकार ढाल्ने काम भएको आरोप लगाए।
श्रेष्ठले वर्तमान सरकार भ्रष्ट र निरंकुश रहेको समेत आरोप लगाए। सरकारको कार्यशैलीका कारण जनतामा असन्तुष्टि बढेको र यसले प्रतिगामी शक्तिहरूलाई सल्बलाउने मौका दिएको उनको भनाइ थियो। उनले अबको दुई वर्ष पार्टी जनतासँगको अभियानमा पूर्ण रूपमा केन्द्रित भएर निर्वाचनको तयारी गर्ने र २०८४ सालको निर्वाचनमा बहुमत ल्याउने लक्ष्यका साथ अघि बढेको जानकारी दिए।















