२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसाको आवरणमा राज्य संयन्त्रले नीति बनाएरै मानव बेचबिखन गरिरहेको गम्भीर आरोप लगाउँदै यस विषयमा तत्काल छानबिन हुनुपर्ने आफ्नो अडान दोहोर्याएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारलाई लक्षित गर्दै “राज्य जनताको लागि हो कि शासकहरूको लागि?” भन्दै प्रश्न गरे। परियारले आफ्ना नागरिकलाई तस्कर गर्ने राज्यलाई जवाफदेहिता कसले बनाउने भन्दै सरकारसँग प्रश्न दोहोर्याए। उनले “संख्याको दम्भ नदेखाउन” भन्दै रास्वपा यो विषयमा गम्भीरताका साथ लागेको बताए।
प्रमुख सचेतक परियारले गृह प्रशासनकै मिलेमतोमा मानव तस्करी भइरहेको आरोप लगाउँदै, आफूहरूले यस विषयमा निरन्तर आवाज उठाइरहँदा पनि सदनलाई बल प्रयोग गरेर नचलाउन चेतावनी दिए। यस बयानले संसदमा जारी गतिरोधलाई थप तनाबग्रस्त बनाएको छ।















