२ असार, काठमाडौँ । फेसबुकमा सन्देश छाडेर सम्पर्कविहीन भएका रामेछाप अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. केशव श्रेष्ठको खोजी तीव्र पारिएको छ। प्रहरीले उनको मोबाइलको अन्तिम लोकेसन चाबहिल क्षेत्रस्थित गोपीकृष्ण हल नजिकै देखिएकाले सोही क्षेत्रमा तीब्र खोजी गरिरहेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतका अनुसार साइबर ब्युरो र काठमाडौँ परिसरसहितका प्रहरी युनिटहरू उनको खोजीमा जुटेका छन्। डा. श्रेष्ठ निलो रङको मोटरसाइकल चढेर घरबाट निस्केको जानकारी बस्नेतले दिए। डा. श्रेष्ठले सोमबार फेसबुकमा परिवार र आफन्तसँग माफी माग्दै एक सन्देश लेखेका थिए।
गैँडाकोट घर भई काठमाडौँको कपनमा बस्दै आएका उनले रामेछाप अस्पतालमा आफू प्रमुख भएपछि कामचोर, ठग र सिस्टममा नबस्ने कर्मचारीहरू भागाभाग भएको उल्लेख गरेका छन्। उनले आफूविरुद्ध सरुवा भएर गएका डा. गगन अधिकारी र रामेछाप–८ का केदार कार्की लगायतका व्यक्तिहरू लागेको समेत बताएका छन्।















