२ असार, काठमाडौं। सोमबारको प्रतिनिधिसभा बैठकमा सत्तारुढ र विपक्षी सांसदहरूबीच आगामी वर्षको बजेटबारे तीव्र वादविवाद भएको छ।
सत्तारुढ दल कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले बजेटले गरिबी निवारण, रोजगारी सृजना र आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राखेको बताउँदै यसको स्वागत गरे। एमाले सांसद पदम गिरीले बजेट कार्यान्वयन योग्य रहेको उल्लेख गर्दै यसले युवालाई देशमै रोजगारी दिने मार्ग खुला गरेको बताए।
तर, माओवादी सांसद शक्ति बस्नेतले बजेटले संघीयता कमजोर पार्ने ढंगले योजना बनाएको आरोप लगाए। ऊर्जा विकास जस्ता महत्वपूर्ण क्षेत्रमा ध्यान नदिएको भन्दै उनले असन्तुष्टि जनाए। एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले बजेटलाई मन्त्रीहरू आफूअनुकूल बनाएको दाबी गरे।















