२ असार, काठमाडौं । नेकपा एमालेका सांसद बासुदेव घिमिरेले प्रतिनिधिसभामा बोल्दै स्थानीय तहको संख्या घटाएर ५०१ मा सीमित गर्नुपर्ने प्रस्ताव राखेका छन्। सोमबार संसदमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलका क्रममा घिमिरेले स्थानीय सरकारहरूका संख्याले आर्थिक भार बढाएको बताउँदै खर्च कटौतीका लागि संरचनागत समायोजन आवश्यक रहेको उल्लेख गरे।
उनले प्रस्ताव अनुसार महानगर १०, उपमहानगर १५, नगरपालिका २२५ र गाउँपालिका २५१ कायम गर्नुपर्ने बताए। “यस्तो संरचनाले वार्षिक करिब ३० अर्ब रुपैयाँ खर्च घटाउन सकिनेछ,” घिमिरेले दाबी गरे।
सांसद घिमिरेले यो प्रक्रिया तत्काल सुरु गरेर २०८४ सालको चुनावअघि नै कार्यान्वयनमा ल्याउनुपर्ने सुझाव पनि दिए। उनले यसअघि पनि यो प्रस्ताव संसदमा उठाएको स्मरण गराउँदै सरकारले अब निर्णयात्मक ढंगमा अघि बढ्नुपर्ने धारणा राखे।















