२ असार,सेढवा । पर्साको पटेर्वासुगौली गाउँपालिकामा आज (सोमबार) सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको आयोजना तथा सृजनशील महिला विकास केन्द्र वीरगन्जको समन्वयमा गुदरबाबा मन्दिर परिसरमा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ममता महतोले चालू आर्थिक वर्ष २०८१/८२ मा हालसम्म ८७ वटा साना तथा ठूला योजनाहरू सम्पन्न भएको जानकारी दिइन् ।
उपाध्यक्ष महतोले “कृषि, पर्यटन, हरियो वन! समृद्ध पटेर्वासुगौलीको खुशियाली मन!!“ नारासहित चालू आर्थिक वर्षमा निर्माण गरिएका नीति तथा कार्यक्रमअनुसार योजनाहरू सम्पन्न भएको र हुने क्रम जारी रहेको बताउनुभयो। कृषि परियोजनाका लागि सिँचाइ गर्न विद्युतीय तार र पोल जडान, कृषि उत्पादन भण्डारणका लागि दुईवटा कोल्ड स्टोर, कृषि बजारको व्यवस्थापन लगायतका पञ्चवर्षीय योजनाहरू कार्यान्वयन भइरहेको उनले जानकारी दिइन् ।
शैक्षिक सुधारमा पनि गाउँपालिकाले जोड दिएको छ। ’एक वडा एक माध्यमिक विद्यालय’ को लक्ष्यतर्फ काम भइरहेको र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि कारखाना समूहसँगको सहकार्यमा आधारभूत र माध्यमिक तहमा ’खेल्दै सिक्दै’ कार्यक्रम सञ्चालनमा ल्याइएको उपाध्यक्ष महतोले दिइन् ।
भौतिक पूर्वाधारतर्फ ४ नम्बर वडाको वडा कार्यालयको नयाँ सुविधासम्पन्न भवन सञ्चालनमा आइसकेको छ भने केही महिनाभित्रै पालिकाको आफ्नै प्रशासनिक भवन पनि सञ्चालनमा आउने महतोले जानकारी दिनुभयो। विभिन्न वडामा नाला निर्माण, सडक ढलान, बाउन्ड्री निर्माण, सामुदायिक भवन निर्माण, सडक कालोपत्रे, सिँचाइका मुहानको संरक्षण, पुलपुलेसा लगायतका कार्यहरू सम्पन्न भएको उनले उल्लेख गरे ।
सर्वसाधारणका प्रश्नको जवाफ दिँदै उपाध्यक्ष महतोले नेपाल सरकारको नियमानुसार विकास निर्माणका कार्यहरू ठेक्कापट्टा, कोटेशन तथा उपभोक्ता समिति मार्फत भइरहेको बताउनुभयो। यद्यपि, उपभोक्ता समिति मार्फतका योजनाहरूमा ढिलाइ हुने र अनुगमन गर्दा गुणस्तरमा कमी देखिएको उनले स्वीका गरे ।
प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले गाउँपालिकामा धेरै कार्यहरू भए पनि बजेट सीमित रहेको र प्रत्येक वर्ष सरकारले बजेट रकम कटौती गर्दै आएको बताउनुभयो। जनप्रतिनिधिहरूले प्राथमिकताका आधारमा निर्माण गरिएका योजनाहरूलाई कार्यान्वयन गरिएको र कार्यालयबाट सेवा प्रवाह गर्न सहजता कायम गरिएको उनले जानकारी दिइन् ।
कार्यक्रममा सहभागी सर्वसाधारणले सिँचाइ, सडक, नाला, विद्युतीय पोल र तार लगायतका विषयमा गुनासो राखेका थिए। साथै, विभिन्न कार्यक्रममा थारू समुदायको सहभागिता बढी हुने तर दलित तथा मुस्लिम समुदायको सहभागिता न्यून रहेको र शिवम ह्याचरीका कारण बस्ती दुर्गन्धित भएको भन्दै गुनासो पोखेका थिए।
कार्यक्रममा वडाध्यक्ष विजय गैरे, माधव राउत थारू, बासु पञ्जियार, पूर्व गाविस अध्यक्ष परमेश्वर गौरो लगायतको उपस्थिति थियो। कार्यक्रम सञ्चारकर्मी माधुरी महतोले सञ्चालन गर्नुभएको थियो भने सहजीकरण सञ्चारकर्मी क्रान्ति साहले गरेका थियो।















