३ असार, तेहरान । इरानको राजधानी तेहरानमा रहेको इस्लामिक रिपब्लिक अफ इरान न्युज नेटवर्क (IRINN) को भवनमा भएको आक्रमणमा एक सरकारी टेलिभिजन कर्मचारीको मृत्यु भएको छ ।
इरानी सरकारी समाचार संस्था फार्स न्युज एजेन्सीका अनुसार आक्रमणको समयमा प्रसारण भइरहेको समाचार कार्यक्रममै मिसाइल प्रहार भएको थियो। घटनामा इस्लामिक रिपब्लिक अफ इरान ब्रडकास्टिङ (IRIB) मा कार्यरत पत्रकार मसौमेह आजिमीको ज्यान गएको पुष्टि गरिएको छ ।
सार्वजनिक भएको भिडिओ फुटेजमा स्टुडियोमा अचानक विस्फोट हुँदा समाचार वाचन रोकिएको देखिन्छ। आक्रमण कुन पक्षबाट गरिएको हो भन्ने विषयमा स्पष्ट विवरण नआए पनि अधिकारीहरूले अनुसन्धान जारी रहेको जनाएका छन् ।
यसबीच, इरानको रक्षा मन्त्रालयका अनुसार इजरायलले शुक्रबारदेखि सुरु गरेको हवाई आक्रमणमा अहिलेसम्म २२४ जनाको मृत्यु भइसकेको छ । इरानी पक्षले आक्रमणको जवाफस्वरूप गरेको कारबाहीमा इजरायलमा कम्तीमा २४ जनाको मृत्यु भएको इजरायली प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
क्षेत्रीय तनाव चुलिँदै गएको अवस्थामा दुबै देशबाट हताहतको संख्या बढ्दो छ। अन्तर्राष्ट्रिय समुदायले संयम अपनाउन आह्वान गर्दै आएको छ ।
भिडियो :
















