३ असार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले ट्राफिक भीड भएका क्षेत्रमा लक्षित गर्दै रातको समयमा पनि नाला सरसफाइ अभियान सुरु गरेको छ । मनसुनमा डुबानको जोखिम कम गर्न महानगरले एक्जाभेटर र ट्रयाक्टरको सहायताले मुख्य सडक क्षेत्रका नाला सफाइ तीव्र बनाएको हो ।
महानगर प्रमुख राजेशमान सिंहका अनुसार ‘वैभव वीरगञ्ज’ अभियान अन्तर्गत कुनै सम्झौता नगरी सरसफाइलाई प्राथमिकता दिइएको छ ।
स्थानीय र संघसंस्थाले पनि महानगरको प्रयासको सराहना गरेका छन् । ग्रिनसिटी अध्यक्ष जयप्रकाश खेतानले वीरगञ्जमा विगतको तुलनामा ठूला परिवर्तन देखिएको बताए ।
सार्वजनिक–निजी साझेदारीमा फोहर व्यवस्थापन गरिरहेको एनके इन्टरप्राइजेजले वर्षायाममा सडकमै पानी जम्ने समस्या न्यूनीकरण गर्न अभियान अघि बढाइएको जनाएको छ ।
स्थानीय बासिन्दाले वर्षौँपछिको यस्तो प्रयासको स्वागत गर्दै नियमितता कायम गर्न आग्रह गरेका छन् ।















