Logo

३ असार, चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू प्रतिपक्षमा भए पनि संविधान र ऐन कानुनका कारण सत्ता पक्षको जस्तो भूमिका खेल्नुपर्ने बाध्यता रहेको बताएका छन्।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै १७ दिनसम्म संसद अवरोध गरेको माओवादी केन्द्रले सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेसँग दुई बुँदे सहमति गर्दै अवरोध खुलाउन राजी भएपछि पार्टीभित्रैबाट आलोचना खेपिरहेको छ।

यसै सन्दर्भमा मंगलबार बिहान चितवनस्थित निजी निवासमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले भने, “प्रतिपक्षको हिसाबले हामी कमजोर छौं। तर पनि हामीले संविधानको निम्ति, ऐन कानुनको निम्ति, सिस्टमको निम्ति सत्तापक्षको भूमिका खेल्नुपर्ने बाध्यता छ।”

बजेटमाथिको छलफलका लागि संसदको अवरोध हटाउनु परेको उनको भनाइ थियो। संसद अवरोध खुलाउन गरेको दुई बुँदे सहमतिलाई प्रचण्डले माओवादी जिम्मेवार ढंगले प्रस्तुत भएको भनेर व्याख्या गरे।

उनले भने, “यदि तपाईंहरूले यो कुरालाई गहिरो गरी विचार गर्नुभयो भने माओवादी कति गम्भीर र जिम्मेवार ढंगले चलेको रहेछ भनेर बुझ्न सजिलो हुन्छ। तपाईंहरूले परम्परागत आँखाले, चलनचल्तीको हिसाबले मात्रै हेर्नुभयो भने के गर्‍यो होला र भन्न पनि सकिन्छ।”

माओवादीले संसदमा १७ दिनसम्म गरेको अवरोध र त्यसपछिको सहमतिलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेका बेला प्रचण्डको यो भनाइले पार्टीको निर्णयलाई फरक कोणबाट व्याख्या गर्ने प्रयास गरेको छ।


सम्बन्धित समाचार