३ असार, चितवन । गएरातिको अविरल वर्षाका कारण आएको बाढीले पूर्वपश्चिम राजमार्गको नवलपरासी पूर्व खण्डमा सवारी आवागमन ठप्प भएको छ। विनयी त्रिवेणी गाउँपालिका–१ स्थित विनयी खोलामा बनाइएको डाइभर्सन बाढीले बगाएपछि आज बिहान ४ बजेदेखि नै यातायात अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डीएसपी मधु नेपालका अनुसार, विनयी खोलामा ठूलो बाढी आएकाले डाइभर्सन पूर्ण रूपमा डुबानमा परेको छ। अहिले पनि बाढी डाइभर्सनमाथिबाट बगिरहेको छ। बाढी ठूलै भएकाले त्यहाँबाट तत्कालै गाडी चल्न सक्ने अवस्था छैन, डीएसपी नेपालले बताए।
बाढीका कारण विनयी खोलाको दुवैतर्फ मालबाहक सवारी साधन र ठूला बसहरू रोकिएका छन्। साना गाडीहरूलाई वैकल्पिक मार्गका रूपमा होङ्सी सिमेन्ट कारखानामार्ग, सर्दी हुँदै दुम्किबास बजार निस्किने व्यवस्था मिलाइएको छ।
दाउन्नेको हिलाम्मे सडकमा थप समस्या
तर, वैकल्पिक मार्गबाट गएका सवारी साधनहरू पनि नवलपरासी पश्चिममा पर्ने दुम्किबास–दाउन्नेको उकालोको हिलाम्मे सडकमा फसिरहेका छन्। दाउन्नेको उकालो सडक लामो समयदेखि नै हिलाम्मे र चिप्लो भएकाले सवारी साधन सञ्चालनमा समस्या हुँदै आएको छ। डीएसपी नेपालका अनुसार, हिलो र चिप्लो सडकमा गाडी चलाउन समस्या भएपछि दुम्किबास क्षेत्रमा अहिले सयौं सवारी साधन रोकिएका छन्।
गत वैशाख २९ गते नवलपरासी पूर्वमा पर्ने चोरमारा पुल भाँचिएपछि त्यस क्षेत्रमा गाडी सञ्चालनमा थप समस्या हुँदै आएको छ। यसरी राजमार्गका विभिन्न खण्डमा देखिएका समस्याले गर्दा पूर्वपश्चिम यात्रा गर्ने यात्रुहरूले ठूलो सास्ती भोग्नुपरेको छ।















