Logo

हङकङ। मंगलबार बिहान हङकङको हङहोममा एउटा घातक सडक दुर्घटना भएको छ। तीव्र गतिमा रहेको एउटा ट्रकले सडकमा नियन्त्रण गुमाएर फुटपाथस्थित बस स्टपमा ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। दुर्घटनापछि ट्रकका चालक भने फरार छन्।

बिहान करिब साढे ६ बजेतिर भएको उक्त घटनामा ५१ वर्षीया एक महिलाले ज्यान गुमाइन्। गम्भीर घाइते अवस्थामा उनलाई क्विन एलिजाबेथ अस्पताल पुर्‍याइए पनि चिकित्सकहरूले मृत घोषणा गरे। त्यस्तै, ३३ वर्षीया अर्की एक महिला घाइते भएकी छिन्। उनको हात र खुट्टामा चोट लागेको छ र उनलाई पनि अस्पतालमा उपचार भइरहेको छ।

अनलाइनमा प्रसारित भिडिओ फुटेजअनुसार, चाथम रोड उत्तरबाट चिमसा चोईतर्फ गइरहेको ट्रक ओरालो लाग्ने क्रममा अनियन्त्रित भएको थियो। ट्रकले सडकको अवरोध पार गर्दै धेरै लेन छिचोलेर सिधै बस स्टपमा ठोकिन पुगेको देखिन्छ। यसपछि बस कुरिरहेका यात्रुहरू र वरपरका मानिसहरूमा भागाभाग मच्चिएको थियो।

अधिकारीहरूले फरार चालकको खोजी कार्य तीव्र पारिएको बताएका छन्।


सम्बन्धित समाचार