Logo

३ असार, काठमाडौं । भिजिट भिसा प्रकरणको छानबिन र गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विरोधमा उत्रिएका प्रमुख प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूलाई सत्तारुढ नेपाली कांग्रेसले संसद बैठकबाटै निष्कासन गर्न माग गरेको छ ।

मंगलबार दिउँसो २ बजे बसेको प्रतिनिधिसभाको बैठकमा नियमापत्ति जनाउँदै कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले रास्वपा सांसदहरूले नीलो स्कार्फ लगाएर प्रदर्शन गरेको कार्यलाई ‘अभद्र व्यवहार’ को संज्ञा दिए ।

“सभामुख महोदय, संसद् सचिवालयको नियमावली ३० मा अभद्र व्यवहार नियन्त्रणको व्यवस्था छ । नियम ३१ मा बैठक कक्षबाट निष्कासन गर्ने व्यवस्था छ,” निलो स्कार्फसहित बैठकमा उपस्थित रास्वपा सांसदहरूलाई लक्षित गर्दै घिमिरेले भने, “नीलो स्कार्फ लगाएर संसद्मा आउनु मर्यादित हुन्छ कि हुँदैन ? भोलि हाफ पाइन्ट मात्रै लगाएर आउने, जथाभावी पोशाकमा आउने गरे, त्यो संसद्को मर्यादामा पर्छ कि पर्दैन ?”

उनले सभामुख देवराज घिमिरेलाई रास्वपाका सांसदहरूलाई चेतावनी दिएर संसदबाट निष्कासन गर्नुपर्नेमा जोड दिए । “सभामुखले चेतावनी दिएर उनीहरूलाई संसद्बाट निष्कासन गर्न सक्नुपर्छ,” घिमिरेले थपे, “यो संसद्को मर्यादाबाहिरको विषय हो । यसमा उचित निर्णय लिनुपर्छ ।”

यस घटनाले संसदभित्र भिजिट भिसा प्रकरणको विषयमा सत्तापक्ष र प्रतिपक्षबीचको राजनीतिक तनाब अझ चुलिएको देखाएको छ ।


सम्बन्धित समाचार