Logo

३ असार, काठमाडौं ।  सरकारले सुन तथा सुनका गहनामा लगाएको २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) को विरोधमा सुनचाँदी व्यवसायीले आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

सुनचाँदी व्यवसायी संघ र महासंघहरूले संगठित रुपमा सरकारको यस निर्णयको विरोध गर्दै आएका छन् । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुन, चाँदी, हिरा र अन्य बहुमूल्य पत्थरहरूलाई विलासी वस्तुको सूचीमा राखी विभिन्न कर तथा शुल्कहरू लगाउने प्रस्ताव गरेपछि व्यवसायीहरू विगत केही दिनदेखि सडक केन्द्रित आन्दोलनमा छन् ।

आन्दोलनकै सिलसिलामा मंगलबार पनि उनीहरूले काठमाडौंको न्यूरोड र बसन्तपुर क्षेत्रमा कालो ब्यानरसहित प्रदर्शन गरे । यस प्रदर्शनमा भक्तपुरका सुनचाँदी व्यवसायीहरू पनि सहभागी हुन न्यूरोड पुगेका थिए ।

भक्तपुर सुनचाँदी व्यवसायी संघका कार्यवाहक अध्यक्ष बिजेन शाक्यले परम्परादेखि चल्दै आएको सुनचाँदी व्यवसायमा भ्याट र कर लगाउनु अन्यायपूर्ण भएको र त्यसको खारेजीको मागसहित सडकमा आउनुपरेको बताए । उनले भने, “हामीले गरिरहेको कार्यक्रम चाहेर गरेको होइन । परम्परादेखि गर्दै आएको सुनचाँदी व्यवसायलाई भ्याट र कर लगाएर अन्याय गरियो । जन्मदेखि मृत्युसम्म चाहिने सुनमा जुन कर लगाएको छ त्यो अन्यायपूर्ण नै हो।”

यस्तै, भक्तपुर सुनचाँदी व्यवसायी संघका सल्लाहकार साक्यन शाक्यले सुनलाई विलासिताको वस्तुमा राख्ने कुरा मान्य नभएको भन्दै त्यसलाई हटाउनुपर्ने माग राखे । उनले भने, “सरकारले आर्थिक वर्ष २०८२/८३ मा सुनलाई विलासिता वस्तु भनेर २/२ प्रतिशत गरेर तीन तहमा ६ प्रतिशत थप कर लगाउने र रत्न पत्थरजन्य वस्तुमा १३ प्रतिशत भ्याट लगाउनु असान्दर्भिक छ । कर नीतिका विरुद्धमा हामी आज मौन जुलुसका साथ न्यूरोडमा आएका छौं । सुनलाई विलासिताको वस्तुमा राख्ने हामीलाई मान्य नभएको हुनाले यसलाई हटाउनुपर्छ।”


सम्बन्धित समाचार