Logo

३ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) ले यातायात कार्यालय, सवारी चालक अनुमतिपत्र पर्साका अधिकृत कमल राज गौतम र उनकी श्रीमती सरला नेपालविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । गौतममाथि सेवामा रहँदा पदीय मर्यादाविपरीत गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप लागेको थियो ।

अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिएअनुसार, उजुरीका आधारमा गरिएको अनुसन्धानमा गौतमको साढे २ करोडभन्दा बढी स्रोत नखुल्ने सम्पत्ति भेटिएको छ । अनुसन्धानका क्रममा २०५५ सालमा सेवा प्रवेश गरेका गौतमले २०७९ चैतसम्मको अवधिमा आफ्नो वैध आयभन्दा २ करोड ५१ लाख ७८ हजार ६ सय ८७ रुपैयाँ ७१ पैसा बढी रकम भ्रष्टाचार गरेको पाइएको अख्तियारको ठहर छ ।

अख्तियारले गौतमको स्रोत नखुल्ने सम्पत्ति जफत गरी भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कारबाही अघि बढाउन मंगलबार विशेष अदालतमा सोही बराबरको बिगोदाबी कायम गरी आरोपपत्र दायर गरेको छ ।

साथै, अख्तियारले गौतमले गैरकानुनी तरिकाले आर्जन गरेको सम्पत्ति श्रीमती सरला नेपालको नाममा राखी सम्पत्ति विवरण पेश गर्दा लुकाएको पाइएको भन्दै सरला नेपाललाई पनि प्रतिवादी बनाइएको छ । यो अख्तियारले हालै दायर गरेका ठूला भ्रष्टाचार मुद्दा मध्येको एक हो, जसले सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको अनियमिततालाई नियन्त्रण गर्ने अख्तियारको प्रतिबद्धतालाई थप बल पुर्‍याएको छ ।


सम्बन्धित समाचार