३ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसामा विदेश पठाएर रकम असुलेको आरोपमा गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईमाथि अनुसन्धान गरिरहेको छ। अख्तियारका अधिकारीहरूले हाल भट्टराईबाट जफत गरिएको डायरीको विस्तृत विवरण विश्लेषण गरिरहेको बताएका छन्।
भट्टराईमाथि त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयको प्रमुख हुँदा बिचौलियाहरूसँग मिलेर भिजिट भिसामा ‘सेटिङ’ गरी कागजात नपुगेका नेपालीलाई विदेश पठाएको आरोप छ। अख्तियारको प्रारम्भिक अनुसन्धानले कागजात अपुग भएका व्यक्तिहरूलाई विदेश उड्ने अनुमति दिएर भट्टराईले गिरोहसँग मिलेर लाखौँ रुपैयाँ असुलेको निष्कर्ष निकालेको छ।
डायरीमा भेटिएका विवरण
अख्तियारका एक उच्च अधिकृतका अनुसार, भट्टराईको डायरीमा ‘सेटिङ’ मा पठाइएका मानिसहरूको सूची र हिसाब-किताब भेटिएको छ। जेठ ७ गतेदेखि आयोगले भट्टराईमाथि अनुसन्धान गरिरहेको छ। डायरीमा भिजिट भिसामा पठाउनुपर्ने व्यक्तिहरूको विवरण, उनीहरू कोमार्फत आएका हुन् भन्ने कुरा पनि उल्लेख छ। यस विवरणमा गृह मन्त्रालयका उच्च अधिकृतहरूको नामसमेत उल्लेख गरिएको अनुसन्धानमा संलग्न एक अधिकारीले बताएका छन्। उनले भने, “यो फलानोको मान्छे, यिनीहरूलाई आज उडाउनुपर्ने भनेर उल्लेख गरेको देखिन्छ।”
डायरीमा बिचौलियामार्फत आएका र मन्त्रालयका अधिकृतहरूले सिफारिसमा अध्यागमन क्लियर गर्नुपर्ने व्यक्तिहरूको सूची रेखाङ्कन गरेर राखिएको पाइएको छ। यसमा कोड वर्ड र सङ्केतहरू पनि भेटिएका छन्। यी कोड वर्डबारे अनुसन्धान अधिकृतहरूले सहसचिव भट्टराई, ‘सेटिङ’ मा संलग्न आरोपीहरू खगेन्द्र सुवेदी, बालकृष्ण पौडेल र एक महिलासँग सोधपुछ गरेका छन्। अख्तियारका एक उच्च अधिकृतले डायरीमा उल्लेख गरिएको सङ्केतलाई यकिन गरेर विश्लेषण गरिरहेको बताएका छन्।
मोबाइल र आर्थिक लेनदेन
अनुसन्धान अधिकृतहरूले भट्टराईका दुईवटा मोबाइल बरामद गरेका छन्। अख्तियारका अधिकृतहरूका अनुसार, भट्टराईले मोबाइलको पासवर्ड भन्न आनाकानी गरिरहेका छन्। अख्तियार स्रोतका अनुसार, भट्टराईले भनेको पासवर्डबाट मोबाइल खुलेन, र पटक-पटक सोध्दा उनले “पहिला त्यही थियो, किन खुलेन मलाई त्यसबारे थाहा भएन” भन्ने जवाफ दिने गरेका छन्। सहसचिव तीर्थराज भट्टराई, ‘द होलिडेज’ ट्राभलका सञ्चालक बालकृष्ण पौडेल र खगेन्द्र सुवेदीसहित चार जनाको डिभाइस आयोगले बरामद गरेको छ। खगेन्द्र सुवेदी र तीर्थराज भट्टराई पछिल्लो समय निकट भनेर चिनिन्छन्। बालकृष्ण पौडेल एसकेआर मेनपावरसँग पनि आबद्ध छन्।
अनुसन्धानको दायरामा अर्की एक महिला पनि छिन्, जससँग आयोगले बयान लिइसकेको छ। ती महिलासँग भट्टराईको आर्थिक ‘लेनदेन’ रहेको भेटिएको छ। अख्तियारका अनुसार, पर्यटक भिसा लगाएर बिदेसिनेहरूबाट रकम असुल्न त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी र बिचौलियाले कोड वर्ड प्रयोग गर्दै आएका थिए। उनीहरूले विशेषगरी यूएई र कुवेततर्फ जाने महिलाहरूबाट धेरै रकम असुल्ने गरेको अख्तियारले जनाएको छ।















