३ असार, काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनाका आरोपी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथिको थुनछेक बहस आज काठमाडौं जिल्ला अदालतमा सकिएको छ । न्यायाधीश तारादेवी महर्जनको इजलासमा भएको बहसपछि अब मिश्रलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश आउनेछ ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र आज आफैं अदालतमा उपस्थित भएका थिए । यसै घटनाका अर्का आरोपी राप्रपाकै महामन्त्री शवलशम्शेर राणा भने सोमबार अदालतमा उपस्थित भई ३ लाख रुपैयाँ धरौटीमा रिहा भइसकेका छन् ।
रवीन्द्र मिश्रविरुद्ध यही जेठ ११ गते राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय माग दाबी गर्दै मुद्दा दर्ता भएको थियो । गत चैत १५ गते राजावादीले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेको थियो, जसमा दुई जनाको मृत्यु भएको थियो । उक्त घटनामा मिश्रले उत्तेजक अभिव्यक्ति दिएको आरोप छ ।
यसै घटनाका योजनाकार मानिएका दुर्गा प्रसाईंलाई भने अदालतले यसअघि नै थुनामा पठाउन आदेश दिइसकेको छ । रवीन्द्र मिश्रको हकमा अदालतले के निर्णय गर्छ, त्यो अब केही समयमै सार्वजनिक हुनेछ ।















