३ असार, काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनाका आरोपी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई काठमाडौं जिल्ला अदालतले ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
आज (मंगलबार) न्यायाधीश तारादेवी महर्जनको इजलासमा भएको थुनछेक बहस सकिएपछि अदालतले मिश्रलाई धरौटीमा रिहा गर्ने आदेश सुनाएको हो ।
मिश्रविरुद्ध यही जेठ ११ गते राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय माग दाबी गर्दै मुद्दा दर्ता भएको थियो । चैत १५ गते राजावादीले आयोजना गरेको प्रदर्शन भड्किएर हिंसात्मक बनेको थियो, जसमा दुई जनाको मृत्यु भएको थियो र मिश्रले उत्तेजक अभिव्यक्ति दिएको आरोप लागेको थियो ।
यसै घटनाका अर्का आरोपी राप्रपाकै महामन्त्री शवलशम्शेर राणा पनि यसअघि नै ३ लाख रुपैयाँ धरौटीमा रिहा भइसकेका छन् । यता, सोही घटनाका योजनाकार मानिएका दुर्गा प्रसाईंलाई भने अदालतले थुनामै पठाउन आदेश दिइसकेको छ ।
















