४ असार, काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज र आगामी ३ दिनका लागि सम्भावित बाढीबारे चेतावनी जारी गरेको छ ।
महाशाखाका अनुसार, आज काठमाडौँसहित ४५ जिल्लामा बाढीको जोखिम देखिएको छ । कोसी, कर्णाली, महाकाली र यिनका प्रमुख सहायक नदीहरूको साथै पूर्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला, बागमती र बबई नदीको जलसतह सतर्कता तहभन्दा तलै रहने तर घटबढ भइरहने अनुमान गरिएको छ । यद्यपि, नारायणी नदी र यसका प्रमुख सहायक नदीहरूको जलसतह सतर्कता तह आसपास रहने सम्भावना भएकाले ती नदीहरूको तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
४५ जिल्लामा बाढीको जोखिम र ’पहेँलो’ चेतावनी प्राप्त १८ जिल्ला
महाशाखाले आज इलाम, पाँचथर, तेह्रथुम, खोटाङ, ओखलढुंगा, रामेछाप, ताप्लेजुङ, धनकुटा, भोजपुर, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, खोटाङ, काभ्रे, मकवानपुर, काठमाडौँ, ललितपुर, भक्तपुर, गोरखा, धादिङ, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, नवलपुरपूर्व, नवलपुरपश्चिम, चितवन, अर्घाखाँची, पाल्पा, रुपन्देही, बाँके, दाङ, प्युठान, जाजरकोट, बैतडी, दार्चुला, बझाङ, बाजुरा, डोटी, डडेलधुरा र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीहरूमा बहाव सामान्य बढ्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।
यीमध्ये, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, खोटाङ, काभ्रे, मकवानपुर, तनहुँ, लमजुङ, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, नवलपुरपूर्व, नवलपुरपश्चिम र चितवन सहित १८ जिल्लालाई बाढी महाशाखाले ’पहेँलो रङ’ (थ्भिियध ध्बचचबलत) अर्थात् मध्यम जोखिम को सूचीमा राखेको छ।
रङ कोडको अर्थ
हाइड्रोलोजिस्ट इन्जिनियर विजय धुकुछुका अनुसार बाढी चेतावनीका लागि प्रयोग गरिने रङहरूको अर्थ यस प्रकार छः
पहेँलो रङः जलसतह सतर्कता तह आसपास पुग्ने र बाढीको मध्यम जोखिम रहेको संकेत।
हरियो रङः जलसतह सतर्कता तहभन्दा तलै रहने र बाढीको न्यून जोखिम हुने संकेत।
सुन्तला रङ जलसतहले सतर्कता तह पार गर्ने र बाढीको उच्च जोखिम रहेको संकेत।
रातो रङ जलसतहले खतरा तह पार गर्ने र बाढीको अति उच्च जोखिम हुने संकेत।















