Logo

फाइल तस्वीर

४ असार, काठमाडौं । एकातिर नेपालका सुन व्यवसायीहरू सरकारी कर नीति विरुद्ध सडक आन्दोलनमा छन्, भने अर्कोतिर सुनको अवैध आयात पनि रोकिएको छैन । गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार टनेलबाट एक किलो भन्दा बढी तौलको काँचो सुन सहित एक भारतीय महिला पक्राउ परेकी छन् ।

एयर अरेबियाको उडानमार्फत शारजाहबाट काठमाडौं आएकी ५३ वर्षीया महिला मीना सुर्जित सिंह खेमानीको साथबाट प्रहरीले १ किलो १५९ ग्राम सुन बरामद गरेको छ । विमानस्थलको भन्सार टनेल क्षेत्रबाट पक्राउ परेको भारतीय महिलाको कनेक्सन न्यूरोड स्थित एकजना भारतीय मूलका सुन व्यवसायीसँग उनको कनेक्सन रहेको हुनसक्ने आशंका गरिएको छ ।

प्रहरीका अनुसार उनलाई शंका लागेपछि थप जाँच गर्दा प्लास्टिकले ¥याप गरिएका तीन डल्ला अर्धठोस सुन फेला परेको हो । सुनलाई अत्यन्त चतुर तरिकाले शरीरमा लुकाएर ल्याइएको थियो, तर सुरक्षा टोलीको सतर्कताले अन्ततः तस्करी योजना असफल भयो ।

नेपालमा हाल सुन व्यवसायीहरू आयात कोटा, कर र अनियमित बजार हस्तक्षेपको विरोधमा निरन्तर आन्दोलनमा छन् । उनीहरूले सुन आपूर्तिमा पारदर्शिता, मूल्य स्थायित्व, तथा तस्करी नियन्त्रणको माग गर्दै आन्दोलन गरिरहेका छन् ।

विमानस्थलको सुरक्षा व्यवस्था प्रभावहीन ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विगतदेखि नै सुन तस्करीको “ट्रान्जिट रुट” जस्तै बनेको छ । ६१ किलो सुन प्रकरणदेखि लिएर पछिल्ला महिनामा पटक–पटक विदेशी नागरिकमार्फत सुन तस्करी हुने क्रम जारी छ ।

यसले विमानस्थलको सुरक्षा संयन्त्र, स्क्यानिङ प्रणाली र भन्सार संयन्त्रको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको छ । विमान स्थलबाट पटक पटक ठूलो परिमाणमा सुन बरामद भएको छ । तर पनि तस्करी रोकिएको छैन । राज्यका निकायले समेत सुन तस्करीमा संलग्न भरियालाई मात्र समात्ने गरेको पाइन्छ । यसको मुख्य कारोवारी भने अहिले सम्म कानूनको फन्दामा परेको पाइदैन ।

सुन तस्करी–सरकारी नीति

अहिलेको परिस्थितिले स्पष्ट देखाउँछ—सुनको माग उच्च छ, तर कानुनी आपूर्तिको संरचना सीमित । सरकारको गलत नीतिका कारण तस्करहरू अवैध लाभ उठाइरहेका छन् भने साना व्यवसायीहरू असमान प्रतिस्पर्धा खेपिरहेका छन् ।

एकातिर सरकारी नीति स्पष्ट छैन, अर्कातिर नियमन कमजोर, जसले गर्दा वैध व्यवसायीहरू मारमा छन् र तस्करहरूलाई खुला बाटो मिलेको छ । सरकारले ल्याउने कर नीति र सुनचाँदी सम्वन्धि अन्य कानूनको कारण ठूलो परिमाणमा सुनको अवैध कारोवार भइरहेको छ ।

यो घटनाले सरकारको दोहोरो कमजोरी उजागर गरेको छ—एक, नीति निर्माणमा व्यवसायीको आवाज सुन्न नसक्नु; दुई, सुरक्षा संयन्त्रमार्फत अवैध व्यापार रोक्न नसक्नु । यस्तो अवस्थामा ‘हामीले कडाइ गरेका छौं’ भन्ने सरकारी भनाइ केवल आश्वासनमा सीमित देखिन्छ ।

एक भारतीय नागरिक विमानस्थलको सुरक्षात्मक घेरो पार गर्दै एक किलोभन्दा बढी सुन भित्र्याउने प्रयासमा समातिनु नेपालमा सुन तस्करीको गम्भीरतालाई फेरि एकपटक उजागर गर्ने घटना हो । यता, आन्दोलनरत व्यवसायीको गुनासो र मागलाई सम्बोधन नगरी तस्करीमाथि नियन्त्रण गर्न नसक्नुले सरकारकै नियमन क्षमतामाथि विश्वास गुमाउने खतरा बढाइरहेको छ ।


सम्बन्धित समाचार