४ असार,वीरगञ्ज । पर्साका स्थानीय तहहरु गाउँसभाको आयोजनामा जुटेका छन् । मधेस प्रदेशको उत्कृष्ट गाउँपालिका भएको ठोरी गाउँपालिकाले आजै गाउँसभाको आह्वान गरेर नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ठोरी बाहेक अन्य स्थानीय तहहरुले पनि गाउँसभा गर्ने तयारीमा जुटेका छन् ।
मधेस प्रदेशको एक मात्र महानगर वीरगञ्जको नगरसभाको तयारीका लागि आज कार्यपालिका बैठक बोलाईएको छ । आज २ बजे कार्यपालिकाको बैठक बोलाईएका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले जानकारी दिए । वीरगञ्ज महानगरपालिकाको नगरसभा सम्भवतः असारको ८, ९ गते आह्वान गर्ने सम्भावना रहेको प्रमुख प्रशासकीय अधिकृत कर्णले बताए ।
पर्साको तीनवटा नगरपालिका मध्य पर्सागढी नगरपालिकाले पनि असार ६ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको नगरप्रमुख गोकर्ण पाठकले बताए । पोखरिया नगरपालिकाको पनि नगरसभाको तयारी भईरहेको प्रमुख प्रशासकीय अधिकृत रामविनय कुमार सिंहले बताए । असार नौ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी रहेको उनले बताए ।
त्यसैगरी बहुदरमाई नगरपालिकाको नीति तथा कार्यक्रम असार ८ गते ल्याउने तयारी गरेको छ । प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवका अनुसार असार ८ गते नीति तथा कार्यक्रम ल्याउने र त्यसपछि बजेट प्रस्तुत गरिने बताए । सखुवा प्रसौनी गाउँपालिकाको १० गते भित्रमा नीति तथा कार्यक्रम आउने गाउँपालिकाका सूचना अधिकारी अरविन्द ठाकुरले जानकारी दिए ।
जगरनाथपुर गाउँपालिकाले पनि असार नौ गते नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरेको गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले बताए । धोविनी गाउँपालिकाको पनि असार १० गते भित्रमै नीति तथा कार्यक्रम आउने प्रमुख प्रशासकीय अधिकृत अशोक रौनियारले बताए ।
पटेर्वा सुगौली गाउँपालिकाले पनि असार १० गते भित्रमै नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारीमा जुटेको गाउँपालिका प्रमुख दिनेश चौधरीले बताए । १४ वटा स्थानीय तह रहेको पर्सा जिल्लामा जीराभवानी, कालिकामाई, पकाहामैनपुर र छिपहरमाई गाउँपालिकाको भने नीति तथा कार्यक्रमको अझै टुंगो लागेको छैन । यी गाउँपालिकाका अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतहरुको मोबाईलमा सम्पर्क गर्दा कसैले पनि फोन उठाएनन् ।















