Logo

४ असार,वीरगञ्ज । बढ्दो गर्मीका कारण रक्तदान कार्यक्रमहरूको आयोजनामा कमी आएसँगै वीरगञ्जमा रगतको चरम अभाव देखिएको छ। यस विषम परिस्थितिमा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र, वीरगञ्ज, पर्साले रगत दानका लागि हार्दिक अपिल गरेको छ।

केन्द्रका अनुसार, विशेषगरी थाईलासेमियाबाट पीडित बालबालिका, एनिमियाका बिरामी, डायलिसिस गराइरहेका वृद्धवृद्धा, एकल महिला, गर्भवती तथा सुत्केरी महिला र एच.आई.भी.लगायत विभिन्न घातक रोगका संक्रमितहरूलाई रगत आपूर्ति गर्न निकै कठिनाइ भइरहेको छ।

नेपाल रेडक्रस सोसाइटी, पर्सा शाखाका मन्त्री विनोद गिरी ले यस मानवीय संकटलाई टार्नका लागि विभिन्न संघसंस्था, नागरिक समाज र व्यक्तिगत रक्तदाताहरूलाई अगाडि आउन आग्रह गर्नुभएको छ। उहाँले रक्तदान शिविर आयोजना गर्नका साथै रक्तदान गरेको तीन महिना पुगिसकेका रक्तदाताहरूलाई सिधै नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र, वीरगञ्जमा पुगी रक्तदान गर्न/गराउनसमेत विशेष अपिल गर्नुभएको छ।

“रक्तदान जीवनदान हो,” मन्त्री गिरीले यस मानवीय कार्यमा सबैलाई हातेमालो गर्न अनुरोध गर्दै रगतको अभावलाई तत्काल सम्बोधन गर्न सहयोगको याचना गर्नुभएको छ।


सम्बन्धित समाचार