Logo

४ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसाको दुरुपयोग मार्फत भएको मानव तस्करी प्रकरणमा २ हजारभन्दा बढी पीडित नेपाली नागरिक सम्पर्कमा आएको जनाएको छ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार, पार्टीले ‘भिजिट भिसा र मानव तस्करीसँग सम्बन्धित प्रकरणका कारण ठगिएको कोही छ, भनी जेठ १४ गतेदेखि चलाएको आह्वान अभियानमार्फत प्रमाणसहित यी पीडितहरू सम्पर्कमा आएका हुन्।

झाले सम्पर्कमा आएका पीडितहरूलाई सम्बन्धित सरकारी तथा संवैधानिक नियोगहरूमा जान सुझाएको बताएका छन्। उनले गृहमन्त्रीले सदनमा बोल्दा नक्कली उजुरी दिन लगाएको भनी विषयान्तर गर्न खोजेको र यो पीडितलाई धम्की दिने नियोजित शृङ्खला भएको आरोप लगाए।

रास्वपाले सांसद सुमना श्रेष्ठको निर्देशनमा नक्कली उजुरी दिने काम भइरहेको भन्ने समाचार सार्वजनिक भएपछि सत्यतथ्य पत्ता लगाउन सांसद चन्दा कार्की भण्डारीको नेतृत्वमा एक समिति गठन गरेको छ। समितिका सदस्यहरूमा वरिष्ठ अधिवक्ता डा.नारायण घिमिरे र पूर्व एसएसपी लव विष्ट रहेका छन्।

झाले भिजिट भिसा र मानव तस्करीलाई सङ्गठित अपराध भन्दै रास्वपा यसको विरुद्धमा आन्दोलन जारी राख्ने बताए। उनले आफ्नो पार्टीको मुद्दा कुनै एक दल वा नेताप्रति लक्षित नभई यसमा संलग्न विगतका सबै गृहमन्त्रीहरूको छानबिन हुनुपर्ने माग राखेको स्पष्ट पारे।


सम्बन्धित समाचार