५ असार, काठमाडौं । इजरायल र इरानबीचको बढ्दो तनाव र पछिल्ला केही दिनमा विकसित संवेदनशील घटनाक्रमलाई मध्यनजर गर्दै परराष्ट्र मन्त्रालयले ती देशहरूमा यात्रा गर्न चाहने नेपाली नागरिकहरूका लागि ट्राभल एडभाइजरी जारी गरेको छ ।
मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै नेपालबाट इजरायल, इरान वा अन्य मध्यपूर्वी मुलुकहरूमा भ्रमण, वैदेशिक रोजगारी वा अन्य प्रयोजनका लागि जान चाहने नेपालीलाई हालको परिस्थिति सामान्य नभएसम्म यात्रा नगर्न अनुरोध गरेको छ ।
मन्त्रालयले इजरायल वा इरानको भ्रमण, रोजगारी वा अन्य प्रयोजनका लागि जाने तयारीमा रहेका नेपाली नागरिकहरूलाई हालको जटिल परिस्थिति कायम रहेसम्म त्यस्ता यात्रा नगर्न र स्थगित गर्न आग्रह गरेको छ । यसका साथै, इजरायल-इरानबाहेकका मध्यपूर्वका अन्य देशहरूमा जान चाहने नेपालीहरूलाई पनि सावधानी अपनाउन सुझाव दिइएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार इजरायल र इरानमा रहेका नेपाली नागरिकहरू हालसम्म सुरक्षित रहेका छन् । सरकारद्वारा उनीहरूको हित र सुरक्षा सुनिश्चित गर्न आवश्यकताअनुसार उपयुक्त कदम चालिने विज्ञप्तिमा उल्लेख छ ।
वर्तमान परिस्थितिका कारण स्वेच्छाले नेपाल फर्कन चाहने नेपाली नागरिकहरूले तेस्रो मुलुक हुँदै फर्किनुपर्ने हुनसक्ने भएकाले त्यसका लागि आवश्यक ट्रान्जिट भिसा तथा अन्य प्रक्रिया सहज बनाउन पहल गरिने विज्ञप्तिमा जनाइएको छ ।
इजरायल वा इरानमा रहेका नेपाली नागरिकहरूलाई परराष्ट्र मन्त्रालयले आफ्नो सुरक्षालाई उच्च प्राथमिकता दिन, तोकेको समय र स्थानबाहेक घर, बंकर वा शेल्टरबाहिर ननिस्कन सल्लाह दिएको छ। साथै, इजरायली सरकारले जारी गरेका सुरक्षा सतर्कता, यात्रा तथा सुरक्षित स्थानसम्बन्धी मापदण्डहरू अवलम्बन गर्न अनुरोध गरिएको छ ।
संभावित संकटमा उद्धार र सहायता कार्यलाई सहज बनाउन परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग तथा नेपाली राजदूतावास, तेल अभिभको वेबसाइटमा राखिएको अनलाइन फाराममा यथाशीघ्र व्यक्तिगत विवरण दर्ता गर्न आग्रह गरिएको छ ।
मन्त्रालयले इजरायल र इरानस्थित नेपाली समुदायलाई स्थानीय नेपाली राजदूतावाससँग नियमित सम्पर्कमा रहन, साथै परराष्ट्र मन्त्रालय तथा दूतावासले समयसमयमा प्रकाशित गर्ने सूचना, सन्देश र ट्राभल एडभाइजरी निरन्तर हेर्न र पालना गर्न आग्रह गरेको छ ।















