५ असार, काठमाडौं । देशका विभिन्न भागमा रातिदेखि नै वर्षा भइरहेको छ। पछिल्लो तीन घण्टामा बाँकेमा ४७.२ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ, जुन यो अवधिको सबैभन्दा उच्च हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि देशभरका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भने ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
यसैबीच, जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोकका नदी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। विभागले एक विज्ञप्ति जारी गर्दै असार ३ देखि ७ गतेसम्म छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्रमा पर्ने भोटेकोशी नदीको जलाधार क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेको जानकारी चीनको प्रहरी कार्यालयमार्फत प्राप्त भएको बताएको छ।
विभागका अनुसार हालको भूउपग्रह र मौसम विश्लेषणका आधारमा ती क्षेत्रहरूमा मनसुनको प्रभाव रहे पनि कमजोर अवस्थामै रहेको र हल्कादेखि मध्यम वर्षासम्मको सम्भावना रहेको छ। यद्यपि, मौसममा हुने आकस्मिक परिवर्तन र बाढीजन्य सम्भावित जोखिमलाई मध्यनजर गर्दै विभागले निरन्तर अनुगमन गरिरहेको र अद्यावधिक सूचना नियमित रूपमा सार्वजनिक गरिने विज्ञप्तिमा उल्लेख छ।















