४ असार, काठमाडौं । मनसुन सुरु भएसँगै सडक अवरोधको जोखिम बढिरहेको बेला सडक विभागले देशभर २७७ वटा हेभी उपकरण तयारी अवस्थामा राखेको छ। विभागका अनुसार, यी उपकरणहरू बाढी–पहिरोबाट अवरुद्ध हुने सडकहरू खुलाउने काममा खटिनेछन्।
विभागका प्रवक्ता प्रभातकुमार झाका अनुसार १२३ वटा उपकरण पहिरोको जोखिमयुक्त क्षेत्रमा सिधा अवरोध हटाउनका लागि तैनाथ छन्। १५४ वटा उपकरण निर्माण साइडमा छन्, जसलाई आवश्यक परे तत्काल परिचालन गरिनेछ। यी उपकरणहरूमा ब्याकहोलोडर, डोजर, ट्र्याक, एक्स्काभेटर, ह्वीललोडर, क्रेन, टिपर ट्रक लगायतका २४ किसिमका मेसिनहरू समावेश छन्। सडक विभागले नागरिकहरूलाई अत्यावश्यक कामबाहेक यात्रा नगर्न र सडक अवरोध परे नजिकको विभागीय कार्यालयमा खबर गर्न आग्रह गरेको छ। मनसुनसँगै सडक अबरुद्ध हुने सम्भावना उच्च भएकाले विभागको तयारी सकारात्मक भए पनि समयमै हस्तक्षेप र समन्वय आवश्यक देखिन्छ।















