५ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चर्चामा रहेको भिजिट भिसा काण्डमा संसद्भित्रको आन्दोलनलाई अझ सशक्त बनाउने निर्णय गरेको छ।
पार्टीले संसदमा आफ्नो संसदीय दलको भूमिकालाई प्रशंसनीय ठहर गर्दै, अबको रणनीति अझ प्रष्ट र कडा बनाउने जनाएको छ। बुधबार बसेको रास्वपा सचिवालय बैठकले संसद्भित्र र बाहिर दुवै मोर्चामा पार्टीको उपस्थिति सशक्त बनाउने निर्णय गरेको हो। बैठकपछि जारी विज्ञप्तिमा, पार्टीले भिसा प्रकरणमा सरकारको भूमिकाप्रति गम्भीर आपत्ति जनाउँदै संसद्भित्र कडा दबाब सिर्जना गर्ने बताएको छ।
आन्दोलनकै रूपमा स्थापना दिवस
रास्वपाले असार ७ गते पार्टीको तेस्रो स्थापना दिवस पनि आन्दोलनकै रूपमा मनाउने निर्णय गरेको छ। लुटतन्त्रको खारेजी, सुसंस्कृत राजनीति निर्माणू भन्ने मूल नारासहित देशभर सडक र संसदमा अभियान सञ्चालन गरिनेछ।
रास्वपाका अनुसार स्थापना दिवसको अवसरमा संसदभित्र सक्रिय उपस्थिति, सडकमा शान्तिपूर्ण विरोध कार्यक्रम, जनतामाझ सन्देशमूलक अभियान लगायतका कार्यक्रमहरू सञ्चालन गरिनेछन्। हालै भिजिट भिसा दुरुपयोग प्रकरण चर्चामा छ, जसमा सरकारी निकायहरूका संलग्नता र मिलेमतोको आरोप सार्वजनिक हुँदै आएको छ।
रास्वपाले यस मुद्दालाई संसद्मा बारम्बार उठाउँदै आएको छ र अहिलेको निर्णयले पार्टी अझ निष्क्रियतामाथि सवाल र दबाब दिने रणनीतिमा उत्रिएको संकेत दिएको छ।















