Logo

५ असार,वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकाको एक गाउँमा १३ वर्षीया नाबालिकालाई भारतीय रुपैयाँ ३ लाखमा बिक्री गरी बाल र बेमेल विवाह गराइएको एउटा स्तब्ध पार्ने घटना प्रकाशमा आएको छ।

स्थानीयका अनुसार, गत जेठ २४ गते ती बालिकाको विवाह भारत बिहारको सुगौली नजिकै सुधाव टोलका एक ५० वर्षीय पुरुषसँग गराइएको थियो। यो उनको दोस्रो विवाह भएको बताइएको छ।

पीडित बालिकाका हजुरबुवाले यस घटनाबारे पर्सा प्रहरीको इलाका प्रहरी कार्यालय पोखरिया र जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिँदै विस्तृत छानबिनको माग गरेका छन्। यद्यपि, बालिकाका बाबुआमाले भने गरिबीका कारण यस्तो विवाह गराउन बाध्य भएको समाजसामु बताएका छन्।

विवाह गर्ने ती भारतीय पुरुषले यसअघि आफ्नी जेठी श्रीमतीको हत्या गरेको र अहिले नाबालिकासँग विवाह गरेर उनको भविष्य बर्बाद गरेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्। ती ५० वर्षीय भारतीय दुलहाका पोखरियास्थित केटीको गाउँमा केही नातेदार रहेको र उनले तिनै नातेदारमार्फत बालिकालाई खरिद गरी यो अमानवीय कार्य गरेको बताइएको छ।

पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले यस विषयमा मातहतका प्रहरी युनिटलाई छानबिन गर्न निर्देशन दिइसकेको र सोही अनुसार कारबाही अगाडि बढेको जानकारी दिएका छन्। यस घटनाले नेपाल–भारत सीमा क्षेत्रमा मानव बेचबिखन र बालविवाहको जोखिमलाई पुनः उजागर गरेको छ।


सम्बन्धित समाचार