५ असार, काठमाडौं । दक्षिणी इजरायली सहर बीयरशेबास्थित सोरोका अस्पतालमा इरानी मिसाइल प्रहार भएको छ। एपी र स्थानीय सञ्चारमाध्यमहरूले जनाएअनुसार, यस आक्रमणपछि अस्पताल प्रशासनले उपचारका लागि नआउन सर्वसाधारणलाई अपिल गरेको छ।
इजरायली आपत्कालीन सेवा मागेन डेभिड एडोम (एमडीए) का अनुसार, इरानको यस आक्रमणमा कम्तीमा ३२ जना घाइते भएका छन्। एमडीएका प्यारामेडिक योसी शिलोले आफ्नो टोलीले निर्माणाधीन भवनमा ठूलो क्षति देखेको बताएका छन्।
इजरायली सेनाका एक अधिकारीले इरानले यसपटक नागरिक बसोबास गर्ने क्षेत्रका तीन अन्य स्थानमा पनि आक्रमण गरेको जानकारी दिएका छन्। उनका अनुसार यो आक्रमणअन्तर्गत दर्जनौं मिसाइल प्रहार गरिएको थियो र इजरायलभरि साइरन बजेका थिए। तेल अभिभ र जेरुसेलेम लगायतका अन्य सहरहरूमा पनि विस्फोटको आवाज सुनिएको थियो।
इजरायली उपविदेशमन्त्री शारेन हास्केलले सोरोका अस्पतालमा भएको इरानी आक्रमणलाई ’जानाजानि गरिएको आपराधिक कार्य’ भनेकी छन्। सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै उनले आक्रमण गरिएको स्थान सैनिक क्षेत्र नभई एउटा अस्पताल र प्रमुख चिकित्सा केन्द्र भएको बताइन्। उनले अस्पतालभित्र क्षति भएको देखिने भिडियो पनि सेयर गर्दै यस विरुद्ध विश्वले आवाज उठाउनुपर्नेमा जोड दिएकी छन्। बीबीसीबाट ।
















