५ असार,वीरगञ्ज । पर्साको बिन्दबासिनी वडा नम्बर ५ प्रसौनी भठ्ठामा अहमदिया संघ नेपालको आयोजनामा भव्य ईद मिलन समारोह सम्पन्न भएको छ। बुधबार साँझ आयोजित उक्त कार्यक्रममा विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि अहमदिया संघ नेपालका राष्ट्रिय अध्यक्ष मोहन अहमदले नेपाल धर्मनिरपेक्ष मुलुक भएकाले यहाँ सबै धर्मको सम्मान एकअर्काले गर्नुपर्नेमा जोड दिए। उनले अहमदिया संघले सधैँ हरेक धर्मको सम्मान गर्दै आएको र यस्तै संस्कार अन्य धर्मले पनि कायम राख्नुपर्ने बताए। “अनि मात्र समाजमा धार्मिक सहिष्णुता सदैव कायम रहन्छ,“ उनले भने।
कार्यक्रममा अहमदिया संघ नेपालका अध्यक्ष कमरुल होदा अन्सारीले १३० वर्षअघि भारतको पञ्जाबबाट स्थापना भएको अहमदिया संघको संगठन हालसम्म विश्वका २२४ देशमा विस्तार भइसकेको जानकारी गराए।
उक्त समारोहमा बिन्दबासिनी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मोहन राउत अहिर, वडा सदस्य राजेन्द्र बैठा, रक्त सञ्चार केन्द्रका सौरभ पाण्डे, अहमदिया संघका पर्सा जिल्ला इन्चार्ज हाशिम अहमद, संघका युवा संघका राष्ट्रिय अध्यक्ष सलीम अहमद लगायतको पनि उपस्थिति रहेको थियो। यस कार्यक्रमले धार्मिक सद्भाव र सहिष्णुताको सन्देश दिएको छ।















