Logo

५ असार, काठमाडौं । कम्बोडियाबाट पक्राउ गरी बुधबार राति काठमाडौं ल्याइएका मितेरी सहकारी ठगी प्रकरणका मुख्य अभियुक्त ज्योतिबहादुर भण्डारीविरुद्ध अब उनको नागरिकता र राहदानीमाथि पनि छानबिन हुने भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनको नाममा दुई फरक नम्बरका नागरिकता र राहदानी रहेको खुलेपछि यो विषयमा पनि अनुसन्धान अघि बढाउने जनाएको छ।

सीआईबीका एसपी तथा प्रवक्ता युवराज खड्काका अनुसार, भण्डारीले कास्की र बर्दियाबाट फरक–फरक नागरिकता र राहदानी लिएको पाइएको छ।

ललितपुरमा कार्यालय रहेको मितेरी सहकारीको करिब १४ करोड रुपैयाँ अपचलन गरी उनी लामो समयदेखि फरार थिए। उनीविरुद्ध इन्टरपोलमार्फत रेड नोटिस समेत जारी भएको थियो। यो रकम सहकारीका १४४ जना बचतकर्ता र सञ्चालकहरूको रहेको बताइएको छ।

बर्दियाको बाँसगढी गाउँपालिका–७ का ४२ वर्षीय भण्डारीले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वश्रीमती ज्योति गुरुङमार्फत सहकारीको रकम लिएर घोटाला गरेको आरोप छ। प्रहरीले उक्त रकम उनले क्रिप्टोकरेन्सीमार्फत विदेश पु¥याएको आशंका गरेको छ।

मितेरी सहकारीकी महाप्रबन्धक समेत रहेकी ज्योति गुरुङमार्फत लिएको उक्त रकम सुरुमा थाइल्याण्ड लगेर भण्डारी त्यहीँ बसोबास गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार, भण्डारीले आफूले अपचलन गरेको रकम फिर्ता गरिदिने भन्दै ह्वाट्सएपमार्फत मितेरी सहकारीका पदाधिकारीसँग कुराकानी गरेका थिए। उनले सहकारीका सचिव कृष्णबहादुर रानाको ग्लोबल आईएमई बैंकको इन्द्रचोक शाखामा ३३ करोड ११ लाख रुपैयाँ पार्सल गरी पठाएको छु भन्दै ह्वाट्सएपमार्फत टोकनको फोटो पठाए पनि वास्तवमा रकम नभएको र झुक्याएको पाइएको छ। सीआईबीका एक अनुसन्धान अधिकृतले सो रकम लिन उल्टै कमिसन तिर्छु भन्दै ठगी गर्न खोजेको समेत खुलासा गरेका छन्।

 


सम्बन्धित समाचार